News 24 Television
एमाले नेता कार्यकर्ताबाटै ५१ किलो मालाको भारी

काठमाडौं । घोषित रुपमै शुरु गरेको राजनीतिक सक्रियताप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले रोक लगाए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रोकिएकी छैनन् । बरु उनले आफ्नो सम्पर्क कार्यालय नै स्थापना गरी सक्रियता बढाउँदै लगेपछि एमाले संस्थापन पक्षको निदहराम भएको छ । पार्टीलाई प्रभाव पार्ने गतिविधि नगर्न एमालेका ओली पक्षधर नेताहरुले बारम्बार चेतावनी दिए पनि विद्याको देश दौडाहा कायमै छ । 

पूर्व राष्ट्रपति विद्या भण्डारीले मदन जयन्तीको अवसर पारेर एमालेमा सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् । तर उनको यो घोषणाप्रति एमाले अध्यक्ष केपी शर्मा ओली बाधक बनिदिए । ओलीले पार्टी केन्द्रीय समिति बैठकको निर्णय गराएर विद्याको पार्टी सदस्यता नवीकरण रोकिदिए । अनि, पार्टी गतिविधि नगर्न सचेत गराए । तर विद्याको राजनीतिक सक्रियता रोकिएन । उनले एमालेकै ब्यानरमा राजनीतिक भेटघाट र पत्रकार सम्मेलन गरेर आफ्नो ४५ वर्षदेखिको पार्टी सदस्यता कसैले खोस्न नसक्ने दाबी गरिन् । 

तत्कालिन एमाले नेतृत्वको चेपुवामा परेका बेला अध्यक्ष ओलीले जसरी मदन भण्डारी फाउण्डेशनको मञ्च प्रयोग गरेका थिए । जतिबेला विद्या भण्डारी नै ओलीको सारथि बनेकी थिइन । त्यसैगरी, अहिले विद्याले त्यही मदन भण्डारी फाउण्डेनशनको मञ्च प्रयोग गरि आफ्नो गतिविधि बढाइ नै रहेकी छन् । 

ओलीले जति नै रोक्न खोजे पनि अब पछि नहट्ने अठोट गरेकी विद्याले तत्कालिन अवस्थामा मदन भण्डारीले प्रयोग गरेको भवनलाई सम्पर्क कार्यालय बनाइन् । भण्डारी काठमाडौंमा मात्रै सीमित छैनन् । उनी देश दौडाहामा नै छिन् । 

ओलीको पकड मानिएको पूर्वी नेपालका विभिन्न जिल्ला पुगेकी विद्या शनिवार मधेस प्रदेशको वीरगञ्ज पुग्दा एमाले कार्यकर्ताले ५१ किलोको मालाले भब्य स्वागत नै गरे ।  बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पुगेकी विद्याले महिला नेतृत्वको बारेमा कडिकडाउ भाषण गरेकी छन् । 

पूर्व राष्ट्रपति भण्डारीको सक्रियतालाई एमाले अध्यक्ष ओली र उनी पक्षका नेताहरुले भने निको मानिरहेका छैनन् । त्यसैले विद्याको पक्षमा लागेका नेता कार्याकर्तामाथि कारबाहीको डण्डा चलाउने काम पनि एमालेले गरिरहेको छ । 

गणतन्त्रको प्रतिक एवम् राष्ट्रपतिको उच्च ओहोदामा पुगिसकेको ब्यक्ति राजनीतिमा आउन नहुने भन्दै ओलीले कुनै पनि हालतमा विद्यालाई रोक्ने अवस्थामै छन् । गणन्त्रको प्रतिक जस्ता विभिन्न उपमा दिँदै विद्यालाई रोक्ने प्रयत्न गरेको एमालेले पार्टीलाई प्रभाव पार्ने काम नगर्न सचेत गराउँदै आएको छ । 

पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता बढेसँगै एमालेका नेताहरु पनि क्रमशः विद्याको पक्षमा खुल्न थालिरहेका छन् । विद्याको सम्पर्क कार्यालय उद्घाटनका क्रममा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खुले । शनिवार वीरगञ्जमा विद्यालाई स्वागत गर्ने क्रममा पनि एमालेका केन्द्रीय सदस्यहरुले लामबद्ध देखिएका थिए । पार्टीले नै गरेको उमेर हदको निर्णयलाई उल्टाएर आफू बाँचुञ्जेल आफैले नेतृत्व गर्ने उद्घोष गरेका ओलीका लागि विद्या भण्डारी फलामको चिउरा बनेकी छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update