News 24 Television
नाउपामा रञ्जिताको रणनीतिक चाल, रेशम पक्ष पेलानमा !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सकिएको हो ? अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले डाकेको केन्द्रीय समिति बैठकपछि यो बहस चलिरहेको छ । रेशम चौधरी पक्षले बहिस्कार गरिरहेको केन्द्रीय समिति बैठकले अब निकास निकाल्ने दाबी चलिरहेको बेला नाउपाभित्रको आन्तरिक विवाद के होला त ? 

नागरिक उन्मुक्ति पार्टीमा पारिवारिक कलह उत्कर्षमा छ । संस्थापन नामको ट्याग भिरेर केन्द्रीय समिति सदस्यहरु हिड्नुपर्ने बाध्यता पनि उत्तिकै जोडबलले चलिरहेको छ । 

निर्वाचन आयोगले वैधानिकता नदिने र रञ्जिता पटक–पटक कारबाहीमा परेपनि फर्किने स्थितिले नागरिक उन्मिक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीले पार्टीमा तनाव बढेकोमात्रै भनिरहेका छैनन्, रञ्जितासंगको सम्बन्ध समेत टुंगिन पुगेको टिप्पणी गर्न थालेका छन् । तर, यहि छेकोमा रञ्जिताले बोलाएको केन्द्रीय समिति बैठकमा भने सदस्यहरु भरिभराउ देखिन्छन् । २१ सदस्यीय केन्द्रीय समिति रहेको नाउपाको केन्द्रीय समिति बैठकले अब विवाद वा अन्य कुनै पनि विमतिहरु नरहेको भनिरहेको छ । 

उनले रञ्जितालाई दुई पटक कारबाही गरेपनि निर्वाचन आयोगले मान्यता दिन थालेपछि अब पक्ष विपक्ष नरहेको भनिरहेका छन् । 

नागरिक उन्मुक्तिले केन्द्रीय समिति अध्यावधिकदेखि विभिन्न एजेण्डामा छलफल गर्ने भनेको छ भने बैठक सोमबारसम्म चल्ने जनाइएको छ । तर, पार्टीभित्रको आन्तरिक विवाद भने उत्कर्षमा छ ।

रेशम–रञ्जिताबीचको विवादकै कारण रुपन्देहीको उपचुनावमा उनीहरुले दलको मान्यता नै पाएका छैनन भने  पतिपत्नीको विवाद उत्कर्षमा छ । यस्तो स्थितिमा नाउपाभित्रको आन्तरिक विवाद र तनावले कस्तो रुप लेला ? यो चासोमा रहेको विषय हो भने संघ र प्रदेशमा गरि जम्मा १६ सांसद रहेको नाउपाले अर्को चुनावसम्म पार्टीकै आकारमा रहने स्थिति कायम राख्ला त ? यो पनि गम्भिर प्रश्न बनेर उठिरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update