News 24 Television
बहुविवाह विवादमा लेखजंगको कडा प्रतिक्रिया– रास्वपामाथि आक्रमण 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का उम्मेदवार चयन भएका डा. लेखजंग थापा यतिबेला बहुविवाह विवादमा तानिएका छन् । कानुनविपरीत बहुविवाह गरेको आरोप सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा छन् । विशेषतः सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले यो विषयलाई सामाजिक सञ्जालमा उठाउँदै चुनावी मुद्दा बनाइरहेका छन् । 

सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि डा. थापाले एउटी श्रीमतीसँग कानुनी रूपमै सम्बन्धविच्छेद भएको प्रमाणस्वरूप अदालती कागजात सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्बन्धविच्छेदको कागजात सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत, रुपन्देहीको न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्धविच्छेद गरी मिलापत्रमा हस्ताक्षर गरेको कागजात सार्वजनिक गरेका हुन् । 

उनकी पहिलो श्रीमती सुलोचना घिमिरे बीएससी नर्सिङ गरेकी हुन् र हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् । कान्छी श्रीमती नुमा शर्मा काठमाडौंमा बस्छिन् । २०७९ पुस २० गते नुमाले डा. थापाविरुद्ध आफूलाई खान–लगाउन केही नदिई शारीरिक र मानसिक यातना दिएर घरबाट निकालेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । त्यसपछिको प्रक्रिया अनुसार २०७९ माघ १५ गते अदालतमै मिलापत्र गरी सम्बन्धविच्छेद भएको देखिन्छ । 

डा. थापाले परिस्थितिवश आफूले दुई विवाह गरेको स्वीकार गर्दै एउटी श्रीमतीसँग कानुनीरूपमै सम्बन्धविच्छेद भइसकेको स्पष्ट पारेका छन् । साथै, सम्बन्धविच्छेद भएकी श्रीमतीसँगको एक सन्तान रहेको र बालकको भविष्यका लागि दुवै अभिभावकबीच सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताएका छन् । फेसबुकमा अदालती कागजात सार्वजनिक गर्दै उनले लेखेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा जति सत्य हो, त्यति नै सत्य एक श्रीमतीसँगको कानुनी सम्बन्धविच्छेद पनि हो। त्यसभन्दा ठूलो सत्य, सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीबाट जन्मिएको मेरो सन्तान हो, जसको म बाबा पनि हुँ ।”

उनले यो विषयलाई व्यक्तिगत आक्रमण नभई आफ्नो पार्टीमाथि गरिएको योजनाबद्ध प्रहार भएको बताएका छन् । उनले भनेका छन्, ‘‘माथि आक्रमण भएको भए म चुप लाग्थें, तर यो आक्रमण सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको हो ।” पेशागत जीवनको सन्तुष्टिबाट मात्र सन्तुष्ट नभई देशमा बढ्दो विकृतिप्रति असन्तुष्ट भएर आफू राजनीतिमा होमिएको उनले बताएका छन्। उनले लेखेका छन् “म नेता बन्न होइन, देश बदल्ने सहयात्री बन्न आएको हुँ। रूपान्तरणको सुनामी ल्याउन जोसुकै त्याग गर्न तयार छु ।” साथै, पार्टीले गर्ने कुनै पनि निर्णयलाई आफूले सम्मानपूर्वक स्वीकार्ने पनि उनले स्पष्ट पारेका छन् । 

उम्मेदवारी कायमै

आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापाकै उम्मेदवारी कायमै रहने भएको छ । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए । तर प्रमाण सार्वजनिक भएपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले थापा नै उम्मेदवार रहने स्पष्ट पारेका छन् । 

को हुन् डा. थापा ? 

भैरहवाको सिद्धार्थनगर नगरपालिका–९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो–साइन्सको विकास र बिरामीको उपचारमा उनले १६ वर्षभन्दा बढी समय बिताएका छन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् । 

एक विद्वान चिकित्सकको छवि बनाएका डा. थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोक उपचार र सचेतनामा अतुलनीय योगदान दिएका छन् । उनकै टिमको पहलमा तयार गरिएको राष्ट्रिय स्ट्रोक उपचार प्रोटोकल हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भएको छ । 

साथै, उनले हजारौं चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई ‘स्ट्रोक मास्टर क्लास’ कार्यक्रममार्फत तालिम दिँदै आएका छन् । युवा प्रेरक व्यक्तित्वका रूपमा डा. थापा विगत १५ वर्षदेखि हप्तामा दुई दिन काठमाडौंको व्यस्तता छाडेर भैरहवा पुगेर बिरामी सेवा गर्दै आएका छन् । उनले रुपन्देहीका सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति कोष पनि स्थापना गरेका छन् । 

कस्तो थियो २०७९ को चुनावी प्रतिस्पर्धा ?

२०७९ को आमनिर्वाचनमा रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ १४ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ भने राप्रपा र एमालेको तालमेलबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । करिब डेढ लाख मतदाता रहेको यस क्षेत्रमा समानुपातिक र स्थानीय तहको मतको आधारमा कांग्रेस पहिलो शक्ति देखिन्छ भने रास्वपाको उदयले प्रतिस्पर्धा थप त्रिपक्षीय बन्ने देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update