
कास्की । नियमित अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान एयरलाइन्सले उडान गर्दैछ । यसले पोखरामा केही आशाको सञ्चार गरेको छ । सिचुवान एयरले पनि अष्ट्रेलिया उडानको तयारी गरे पछि पोखरा विमानस्थल थप चलायमान हुने अपेक्षा गरिएको छ ।
आन्तरिक उडानमा प्रगति गरे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । यहाँबाट तीन वर्षमा विभिन्न चार्टर उडान भए पनि नियमित भने हुन सकेनन् । तर, अब पोखराबाट भुटान र अष्ट्रेलीयामा सिधा उडान हुने भएको छ । भुटान एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो ।
हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र पोखरा अन्तराष्ट्रिय विमान स्थल थप चलायमान हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भनाइ छ ।
भुटान एयरको पोखरा उडानले पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीहरूलाई मेयर आचार्यले आग्रह पनि गरेका छन् । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा उडान गरेको थियो ।
पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । भुटान एयरलाइन्सले पोखराबाट पारोका लागि आगामी सेप्टेम्बर २८ र अक्टोबर महिनामा गरी चार दिन उडान गर्ने छ । पोखराबाट भुटानको लागि उडान संचालन गर्ने लागेको युनिभर्सल टुर एण्ड ट्राभल्सका संचालक पराशर प्रर्साइले सबैको साथ सहयोगले पोखरा–भुटान उडान सफल भएसगै पोखराबाट अन्त गन्तब्यमा पनि उडान गराउन सकिने बताए ।
यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्म सिधा हवाई उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलियाको सिधा उडानका लागि तयारी थालेको हो ।
उक्त उडानका लागि एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति मागेको छ । सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानका लागि अनुमति मागेको हो । आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अनुमति दिने तयारी भइरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर महिनाबाटै उडान सुरु गर्ने योजना बनाएको छ । यसअघि सिचुवान एयरलाइन्सले २०८० असारमा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ का लागि पोखरामा चार्टर्ड उडान गरेको थियो ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले मात्रै हप्ताको एक दिन काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ रुटमा नियमित उडान गरिरहेको छ । २०७९ पुस १७ मा उद्घाटन भएको यो विमानस्थलमा सिचुवान र भुटान एयरलाइन्सको आगमनले विमानस्थल थप चलायमान बन्ने अपेक्षा गरिएको छ ।
पोखरा र भैरहवामा विदेशी वायुसेवालाई आकर्षित गर्न सरकारले विभिन्न आकर्षक छुट तथा सुविधासमेत दिएको छ । २०८१ साउन २८ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लाग्ने ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट दिइएको छ ।
यसका साथै, विमानको पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा नेपाल वायुसेवा निगमले दिने ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यिनै सुविधाहरूका कारण विदेशी वायुसेवा कम्पनीहरू यी विमानस्थलमा उडान भर्न आकर्षित हुन थालेका हुन् ।