
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण, चीन भ्रमणको क्रममा उठेका एजेण्डा, चिनियाँ परियोजना सीएसआईमा नेपालको सहभागीता लगायतका विषयमा सांसदहरुले प्रश्न गर्दै जवाफ माग गरेका छन् । प्रतिपक्षीदेखि सत्तारुढ दल कांग्रेसले समेत प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई अत्यन्तै खरो टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा लिपुलेक सीमा विवादको विषय चर्चामा रहयो । लिपुलेकलाई भारत–चीनले व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने सम्झौता गरेपछि तातेकोे नेपालले यसबारेको विषयलाई चीनमा उठाउनुपर्ने दबाब नै दियो ।
त्यसपछि प्रधानमन्त्री केपी ओलीले यो विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसंग कुराकानी गरे र नेपालकोतर्फबाट आपत्ति जनाए । तर, के यो विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि ओलीले राखे ? नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा जवाफ खोजेका छन् ।
सांसद सुवालले जस्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई सकारात्मक मान्न नसकिने दाबी गरेको कांग्रेसले पनि संसदमा चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभमा प्रश्न गरेको छ । कांग्रेसले चिनियाँ जिएसआईमा नेपालले सहमति जनाएको हो भन्दै जवाफ मागेको छ ।
कांग्रेसले जस्तै विपक्षी दलका सांसदहरुले पनि ओलीको चीन भ्रमण र जीएसआईको विषयमा प्रश्न गरेका छन् । जीएसआई प्रस्तावमा नेपाल सहमत भएको हो भन्दै प्रश्न गरेका विपक्षी दलका सांसदले प्रधानमन्त्री ओलीबाटै जवाफ चाहेको बताएका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किसकेका छन् । चिनियाँ विश्वब्यापी सुरक्षा पहलमा नेपालले समर्थन जनाएको भन्दै चीनले जानकारी सार्वजनिक गरेपनि नेपालले यसमा समर्थ नजनाएको दाबी गरिएको छ ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले यसको खण्डन गरेपनि प्रश्नहरु भने उठेका छन् । यद्यपी ओलीको चीन भ्रमणको समीक्षा भने निर्मम हुने स्थिति बन्न थालेको छ ।
ओलीले चीनले मनाएको भिक्ट्री परेडमा समेत सहभागी बन्नु, लिपुलेक प्रकरणमा चिनियाँ राष्ट्रपतिसंग कुरा राख्दा परम्परागत रुपमा भारत चीनले त्यो क्षेत्र उपयोग गर्दै आएको जवाफ पाउनु जस्ता तमाम विषयले पनि संसदमा प्रश्न उठ्ने स्थिति बनेको छ । तर, सत्ता पक्षमा एमालेले भने प्रधानमन्त्री ओलीको भ्रमण सफल भएको दाबी गरिरहेको छ ।
सत्ता र प्रतिपक्षीको दाबी जे जस्तो भएपनि ओलीको चीन भ्रमणको विषयबारेका टिप्पणीसहितका आवाज सडकसम्म नै उठ्न थालेका छन् ।