
झापा । झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ वर्षअघि शुरु गरिएको परियोजना अहिलेसम्म पनि पूर्ण हुन सकेको छैन । राज्यकोषको १६ करोडभन्दा बढी खर्च भइसकेपनि “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” ले हालसम्म नागरिकलाई प्रत्यक्ष सेवा दिन सकिरहेको छैन ।
झापाका केही नगरपालिकाहरुले राज्यकोषको १६ करोड रुपैयाँभन्दा बढी स्वाहा गरेर पनि नागरिकलाई कुनै फाइदा दिन सकेको छैन । कनकाइ, विर्तामोड र अर्जुनधारा नगरपालिकाले संयुक्त रूपमा अगाडि सारेको “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेको आयोजना तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शिलान्यास गरेका थिए ।
निक्कै तामझामका साथ २०७५ सालबाट अगाडि बढेको यो आयोजना झापाको मात्र नभई प्रदेशस्तरमै आदर्श परियोजना मानिएको थियो । फोहोरलाई व्यवस्थित गर्दै नागरिकलाई स्वच्छ ऊर्जाको पहुँच दिने र आर्थिक गतिविधिलाई समेत टेवा पु¥याउने लक्ष्य सहित यसको सुरुवात गरिएको थियो ।
खासगरी कनकाइ नगर क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकता र क्रमशःविर्तामोड र अर्जुनधारा क्षेत्रमा पाइपलाइन बिछ्याएर घर घरमै मिथेन ग्यास आपूर्ति गर्ने योजनाले सर्वसाधारणमा ठूलो आशा जगाएको थियो । तर, ६०÷४० लागत सहभागिता अन्तरर्गत करोडौं लगानी र नगरवासीको प्रत्यक्ष लागत सहभागितामा अघि बढाइएको यो योजना अहिलेसम्म लक्ष्यमा पुग्न नसकिरहेको अवस्था छ ।
योजना प्रारम्भमा फोहोरलाई मोहोर बनाउने भनिएको थियो । तर, अझैसम्मपनि नागरिकलाई पाइपलाइन मार्फत घर घरमै ग्यास पु¥याउन कम्पनीले चासो नदिइएको स्थानीय बताउँछन् ।
आयोजना सञ्चालनका लागि सर्वसाधारणले आफ्नो क्षमता अनुसार पाँच हजारदेखि लाखौं रूपैयाँसम्म लगानी गरे । तर, अझै सेवा प्राप्त गर्न नसकिएको भन्दै स्थानीयबासीले गुनासो गर्न थालेका छन् । ग्यास पाइपलाइन मार्फत घरमा जोड्ने त भनियो तर अहिले उत्पादन भएको ग्यास ठुलाठुला सिलिन्डरमा भरेर होटल होटलमा पुर्याइने गरेको छ । नागरिकलाई घरघरमा पाइपलाइन मार्फत ग्यास उपलब्ध हुने त सपना मात्रै बन्ला जस्तो भइसकेको स्थानीयबासीको भनाइ छ ।
करिब १ हजार घरधुरीले पाइपलाइनमार्फत ग्यास उपभोग गर्न सक्ने गरि सञ्चालन गरिएको आयोजनामा ४० प्रतिशत लगानी स्थानीयबासीले गरेका छन् । योजना सञ्चालनमा ढिलासुस्ती हुनुका पछाडि प्राविधिक कमजोरी, लगानीको पारदर्शितामा देखिएका प्रश्न र नेतृत्व तहबीचको समन्वय अभाव रहेको जानकार बताउँछन् ।
फोहोर व्यवस्थापनमा सरकार र नागरिकबीचको सहकार्यलाई सफल बनाउन सुरु गरिएको यो आयोजनाको भविष्य अझै अनिश्चित बनेको छ । झापाको फोहोर व्यवस्थापन र वैकल्पिक ऊर्जाको प्रयोग दुवैमा ठूला उपलब्धि दिने अपेक्षा गरिएको आयोजना अधुरो रहँदा संस्था र नगरपालिकाहरूको क्षमतामाथि नै प्रश्न खडा भएको छ ।
यता कम्पनीले भने काम निरन्तर सञ्चालन भइरहेको बताउँदै जतिसक्दो चाडैं लक्ष्य अनुरूप सेवा प्रदान गर्ने कार्यमा जुटी रहेको प्रतिक्रिया दिने गरेको छ । अहिले पनि कम्पनी चालु अवस्थामा रहेको जनाउँदै कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर रूपक कार्कीले उत्पादन क्षमताको करिब ३० प्रतिशत उत्पादन भइरहेको बताउँछन् । प्राविधिक कारणले केही ढिला भएको जनाउँदै उनले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
कनकाई–२ स्थित सन्का खोलाको बाधमा कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिकाले २ करोड ५४ लाखको दरले ६० प्रतिशत र बाँकी ४० प्रतिशत नागरिकस्तरबाट लगानी भई १६ करोड बढी लगानी भइसकेको यस योजनालाई सरोकारवाला निकायले चासो दिनुपर्ने देखिन्छ ।