News 24 Television
ओली, शंकर र विष्णु एक हुँदा विद्या पक्षका कर्ण चट्टान झै उभिए, भदौँ २२ मा छिनोफानो

काठमाडौं । एमालेको विधान महाधिवेसन शुक्रबार देखि सुरु भएको छ । ललितपुरको गोदावरी सनराइज हलमा सुरु भएको महाधिवेसनले पार्टीको राजनीतिका कार्यदिशा तय गर्नेछ । महाधिवेशनको उद्घाटन समारोहमा २३ सय बढि प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेपाली राजनीतिको मुल शक्ति रहेको दाबी गर्दै २०८४ एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उद्घोष पनि गरे । 

विधान महाधिशेसनको पहिलो दिन सुरुवातमै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ९१ पृष्ठको लामो राजनीतिक प्रतिवेदनमा ओलीले सत्तापक्ष, विपक्षी दल र नयाँ दलसहित देश विदेशका विषयमा खरो टिप्पणी समेटेका छन् । ओलीले अहिलेको सत्ता साझेदार दल नेपाली कांग्रेस प्रति सहानुभती देखाउँदा नयाँ दल रास्वपा, जनमत, नागरिक उन्मुक्ति सहितका दललाई पुपुलिजमबाट जन्मिएका दलको रुपमा चित्रण गरेका छन् । अध्यक्ष ओलीले नयाँ र मधेस केन्द्रीत दललाई विचार र सिद्धान्त नै नभएका दलहरुको संज्ञा दिए । 

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभारको समेत समष्टिगत रुपमा चर्चा गरेका छन् ।  निर्णायक राष्ट्रिय शक्तिका रूपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन संकल्प समेत गरिएको छ । यस्तै, 

    –जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण

    –नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष प्रस्ताव 

    –‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र सहित विषय ओलीले समाबेस गरेका छन् । 

    ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि उपाध्यक्ष विष्ण पौडेलले विधान संशोधन प्रस्ताव पेस गरे । पौडेलको प्रस्तावमा दुई खाले सदस्यता व्यवस्था

–७० वर्षे उमेरहद हटाउने

    –जिल्ला कमिटीलाई कार्यकारी बनाउने

    –२५१ सदस्यीय केन्द्रीय कमिटी निर्माण

    –एक तिहाई पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था 

    –पदाधिकारीमा अनिवार्य रूपमा एक महिला रहने जस्ता विषय रहेका छन् । 

    सांगठनिक प्रतिवेदन पेश गर्न पुगेका महासचिव शंकर पोखरेलले पार्टी निर्माणका चुनौती र समाधानका उपाय सहित विषय पेस गरेका छन् । महासचिव पोखरेलले राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र, राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, विकास, समृद्धि र सुशासनका विषयमा स्पष्ट धारणा सहित मुलुककै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दृष्टिकोण पेस गरेका हुन् । यस्तै, एमाले विधान महाधिवेसनमा नेता कर्ण थापाले ३२ पृष्ठको फरक मत पेस गरेका छन् । उनले भण्डारीको सदस्यता नविकरण, दुई कार्यकारी र ७० बर्षे उमेर हद हटाउने विषयमा प्रतिवेदन पेस गरेका हुन् । 

उसो त अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दा नै विद्यादेवी भण्डारी एमालेको राजनीतितिमा फर्किने बाटो बन्द भएको स्पष्ट नै पारेका थिए । तर कर्ण थापाले फरक मत राखे पश्चात् पुनः विचार विर्मश बढ्ने भएको हो । भण्डारीको पक्षमा नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्घय प्रदिप ज्ञवाली र सुरेन्द्र पाण्डे समेत समर्थन जनाउने देखिएको छ । तर ओली पक्षका नेताहरु भने स्पष्ट बोलिरहेका छैनन् । 

आइतबारसम्म चल्ने एमाले विधान महाधिवेसनले पार्टी भित्रको फरक मतलाई एकिकृत गर्दै मिसन ०८४ मा बलियो राजनीति शक्ति बन्ने एमालेको लक्ष्य रहेको छ । यसमा एमाले कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाकी छ । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update