
पर्सा । जेन–जीको आन्दोलनका क्रममा तोडफाड तथा आगजनीका कारण पर्साको वीरगञ्ज महानगरपालिका कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । कार्यालय भवन क्षति हुनुका साथै सरसामानहरु समेत लुटपाट हुँदा वीरगञ्ज महानगरपालिकालाई करोडौँको नोक्सानी भएको छ, भने सबै महत्वपूर्ण कागजातहरु पनि जलेर नष्ट भएका छन् ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको अवस्था यतिबेला दयनीय बनेको छ । खडेरी र हैजा नियन्त्रणको चुनैतीकाबिच वीरगञ्ज महानगरपालिका अब आर्थिक संकटको सामना गर्नुपर्ने अवस्थामा पुग्ने देखिएको छ । जेन–जीको प्रदर्शनका क्रममा
उग्रभीडले तोडफोड र आगजनी गरेपछि अहिले महानगर कार्यालय खण्डहर जस्तै बनेको छ ।
यतिमात्रै नभई मध्यरातमा केही अज्ञात समूहले कार्यालयको कप्यूटर, सोफा, प्रिन्टर, टेबल लगायत सरसामानहरु चोरी गरेर लगेका छन् । यद्दपि, चोरी भएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिने कार्य सुरु गरेको छ । सामाजिक संजालमा सार्वजनिक भएको भिडियो मार्फत चोरी गर्ने पत्ता लगाई सामानहरु नियन्त्रणमा लिन थालेको वीरगञ्ज महानगरकानगर प्रहरी प्रमुख हरि प्रसाद भुसालले जानकारी दिएका छन् ।
हाल वीरगञ्जको अवस्थामा सामान्य भएपछि कर्मचारीहरु आ–आफ्नो शाखाको सरसफाई कार्यमा जुट्नुका साथै, बाँकी रहेका कागजातहरु सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । वीरगञ्ज महानगरपालिकाको ६ वटा भवनमा ९ वटा महाशाखा तथा ४६ वटा शाखाहरु छन् । केहि शाखाहरु बाहेक सबै ध्वस्त भएका छन् । साथै प्राविधिक सहयोगबाट केही डाटाहरु रिकभर गर्न सकिएपनि पुराना सबै डाटाहरु नष्ट भएका छन् ।
करिब १ सातापश्चात सेवाग्राहीलाई सामान्य सेवाप्रवाह गर्ने प्रयासमा वीरगञ्ज जुटिरहेको छ । महानगरले सरसफाई कार्य पनि पुनः सुरुवात गरेको छ ।
सामान्य अवस्थामा फर्किन प्रयास गरेपनि पूर्ववत अवस्थामा फर्किन वीरगञ्ज महानगरलाई अझै केहि समय लाग्ने देखिएको छ ।