
काठमाडौं । ‘जेन–जी’ आन्दोलनपछिको चर्को राजनीतिक उथलपुथलबीच नव–नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्की शनिवार घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पताल तथा ध्वस्त प्रहरी चौकीहरुको अवलोकन गर्न पुगेकी छन् । कार्कीले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरस्थित सिभिल अस्पतालसहित विभिन्न अस्पतालहरुमा उपचाररत युवाहरूले राज्यतर्फबाट पाएका चोटको पिडा सुनाएका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शनिवार जेनजी आन्दोलनका घाइतेहरुको उपचार भइरहेको अस्पतालका बेडसम्म पुगेकी छन् । घाइते युवाहरूलाई सम्हाल्दै उनले हात समाएर सहानुभूति प्रकट गरिन् । तर पीडितको आँखामा देखिएको पीडा र आक्रोश केवल अस्पतालको भित्तामा सीमित छैन । उपचाररत घाइतेहरूले आफूले गरेको संघर्षको रक्षा गर्न पनि भनेका छन् ।
घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेको प्रधानमन्त्री कार्कीको पहिलो दृश्य हो । तर देशले हेर्ने दोस्रो दृश्य कारवाही र सुधार हुनेछ । गत सोमबारको आन्दोलनमा राज्यद्वारा गरिएको बलप्रयोगका कारण ५१ जनाको ज्यान गइसकेको छ भने चार सयभन्दा बढी घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।
मानवअधिकार संघ÷संगठनले प्रहरी र सुरक्षाबलको अत्यधिक बल प्रयोगबारे छानबिन गर्न आग्रह गरेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनपश्चात् उत्पन्न दबाबका कारण राजीनामा दिएका थिए । कार्कीलाई आगामी निर्वाचनसम्म देशलाई नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।
घाइतेहरुको अवस्था
काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किएका छन् ।
अस्पताल भर्ना भएका ४९ मध्ये ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । त्यस्तै वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । ती मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।
चुनौतीको चाङ्
न्यायिक पृष्ठभूमिबाट आएकी कार्कीलाई सरकार सञ्चालनको पहिलो प्राथमिकताका रूपमा जनआक्रोशको मूल कारण राज्यद्वारा बल प्रयोगको पारदर्शी छानबिन सुनिश्चित गर्नुपर्ने दबाब छ । नागरिक, मानवअधिकार आयोगदेखि अन्तर्राष्ट्रिय संघसंस्थाहरुले छानबिन र जवाफदेहीताका लागि आवाज उठाइरहेका छन् ।
त्यससँगै सुरक्षा संयन्त्रलाई नियन्त्रणमा राखी शान्ति व्यवस्था कायम राख्ने, आगामी निर्वाचनलाई विश्वसनीय बनाउन तयारी अघि बढाउने र ‘जेन–जी’ आन्दोलनले उठाएका भ्रष्टाचारविरुद्धको लडाइँ, राजनीतिक जवाफदेही र सामाजिक सुधारका मुद्दा सम्बोधन गर्ने चुनौती उनीमाथि छ । अस्पतालमा घाइते भेट्नु प्रधानमन्त्री कार्कीको मानवीय सन्देश हो । तर देशमा विश्वास पुनःस्थापना, न्यायिक निष्पक्षता, सुरक्षा संयन्त्रको संयम र पारदर्शी निर्वाचन तयारी गर्ने कामलाई उनले कस्तो ढंगले अघि बढाउँछिन् भन्ने कुराले उनको अन्तरिम सरकारको सफलता वा असफलता निर्धारण गर्नेछ । र, सबैको नजर यसैमा छ ।