News 24 Television
काठमाडौं महानगर जोगियो, बाहिर जोगिएन

कास्की । जेन जी र जेनजीका नाममा भएका आन्दोलनमा काठमाडौँ महानगरपालिकाका कुनै पनि संरचनामा क्षती पुर्याइएन । तर, देशको सबैभन्दा ठुलो पोखरा महानगरपालिका अधिकांस वडा कार्यालयहरु भने ध्वस्त पारिए । अव यी कार्यालय पुरानै अवस्थामा फर्कन धेरै समय लाग्ने भएको छ । 

दृष्यमा दखिएको यो भग्नावशेष पोखरा महानगरपालिका वडा नम्बर ५ कार्यालयको हो । यो कार्यालय निर्माण सम्पन्न भएर संचालनमा आएको पनि जम्मा दुई महिना मात्रै भएको थियो ।

पाँच करोडको लागतमा निर्माण सम्पन्न भएको भवन वडावासीले राम्रोसँग चिन्न पनि नपाउदै जेनजीको नाममा भएको आन्दोलनमा विध्वंसकारीले ध्वस्त पारिदिए । सिमेन्टको संरचना वाहेक कार्यालय भित्रका सम्पूर्ण फर्निचर, कागज र अन्य सम्पत्ति ध्वस्त भएका छन् । जनताको पसिनाबाट जनता कै सेवाका लागि बर्षौको मेहनतले बनेको कार्यालय यो अवस्थामा पुग्दा स्थानीय जनप्रतिनिधिहरु भावुक देखिन्छन् ।  

पोखरा महानगरपालिका वडानम्बर ५ को कार्यालय त एउटा उदाहरण मात्रै हो । सिंगो पोखरा महानगरपालिका कार्यालय पनि ध्वस्त  छ । कुनै कागजात र केही पनि सम्पती चोखो छैन । यो सँगसगै पोखराका ३३ वटा वडा कार्यालय मध्ये १७ वटा कार्यालय तोडफोड र आगजनीका कारण पूर्णरुपमा क्षती भएका छन् । ग्रामीण क्षेत्रमा पर्ने वडा कार्यालय भने आशिंक क्षति भएका छन् । भने केही क्षती हुनबाट जोगिएका छन् । 

यी तमाम क्षतीका वावजुद पनि पोखरा महानगरपालिकाले असोज १ गतेदेखि कार्यालयले आफ्नो सेवा सुविधा सुचारु गर्ने भएको छ । त्यस अन्र्तगत दमकल रहेको स्थान पोखरा–९ मा मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसहितको महाशाखाहरु राखिने छ । 

पोखरा सभागृहमा शिक्षा महाशाखा, सामाजिक विकास महाशाखा, पूर्वाधार विकास महाशाखा र आर्थिक विकास महाशाखा रहने छन् । 

संघीय राजधानी काठमाडौका संघ मातहतका ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै भवनहरु खरानी बन्दा काठमाडौं महानगरपालिका स्थानीय तहका संरचनाहरु भने सुरक्षित छन् । देशका धेरैजसो स्थानीय तहका कार्यालयहरु ध्वस्त पारिएको छ । 

यी दृष्यहरुले यो प्रष्ट पार्छकी यो जेनजी पुस्ताको आन्दोलनका नाममा अन्य कुनै शक्तिले घुसपैठ गरेर विध्वंश मच्चाउने कार्यको नेतृत्व लिएको थियो भन्ने आशंकाहरु कायमै छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update