News 24 Television
मन्त्रीहरु अवलोकन फन्कोमा व्यस्त ! पुरानै शैली मौलाउने छनक ?

काठमाडौं । अन्तरिम सरकारका मन्त्रीहरु खरानी बनेका संरचनाको निरीक्षणमा जुटिरहेका छन् । ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने बाध्यताकाबीच अघि बढिरहेको सरकारका मन्त्रीहरु अवलोकन गर्ने, निर्देशन दिने र फोटो भिडियो खिचाउनमै समय खर्चिन थालेका छन् । के यसरी सरकारले आफ्नो लक्ष्य पुरा गर्न सक्ला त ? यो मन्त्रीहरुको लावालस्कर हो ।

तीन मन्त्रीहरु अहिले अवलोकनमा जुटेका छन् । यो दृश्य भने भैसेपाटीस्थित मन्त्री क्वाटर जाने बेलाको हो । प्रधानमन्त्री सुशीला कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् बनाएकी छन् । यसमा तीन मन्त्रीहरु आफ्नो क्षेत्रका लोकप्रिय पात्रहरु छन् । जसमा लोकप्रियताको चुलीमा रहेका कुलमान घिसिङ ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारीमा छन्, भने संवैधानिक सर्वोच्चताको वकालत गर्दै आएका ओमप्रकाश अर्याल गृह र कानूनमन्त्रीको रुपमा छन् । 

यता, अर्थसचिव भइसकेका डा. रामेश्वर खनाल अर्थमन्त्रीमा छन् । तीनैजना मन्त्रीहरु अहिले अवलोकनमै समय खर्चिरहेका छन् । सयौं क्यामेरा, सयौं समर्थक र सुरक्षाकर्मीको बीचमा विजयीभावमा रहेका उनीहरुले आफ्नो सरकार ६ महिने म्याण्डेटसहित काम गर्नुपर्नेछ भन्नेमा दायित्यबोध गरिरहेका छन ? प्रश्न उठ्न थालेको छ । 

कार्की मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारीमा छिन् । उनले आगामी निर्वाचनमा आफ्नो मन्त्रिपरिषद्का सदस्य अघि नसर्ने दाबी गरिसकेकी छन् । मन्त्री र सबैे युद्धस्तरमा काम गर्नुपर्ने पनि भनिरहेकी छन् । तर, मन्त्रीहरु जलेका संरचनाको अवलोकन गर्ने, निर्देशन दिनेमै तल्लिन छन् । 

तीनमन्त्रीको सहभागीतामा कुलमान अघि सर्दै अभिव्यक्ति दिने गरेका छन् ।  पीडित परिवारका सदस्य भेट्नु, मृतकमाथि श्रद्धाञ्जली दिनुजस्ता उनीहरुको जिम्मेवारी भएपनि के अवलोकन गर्नैपर्ने हो ? प्रश्न उब्जिएको छ । समय छोटो भएकाले पनि मन्त्रीहरुले विज्ञ र प्राविधिक खटाएर विवरण संकलन गर्ने र त्यसमाथि आवश्यक कारबाही थाल्नुपर्नेमा स्थिति भने फरक बन्दै गएको छ । उसोतः उनै मन्त्री घिसिङले कर्मचारीहरुलाई १८ घण्टा खटिनुपर्ने भन्दै कडा शब्दमा निर्देशन नै दिएका थिए । 

मन्त्रीमाथि शंका र प्रश्न

ऊर्जामन्त्री कुलमान घिसिङ आजभन्दा ५ महिना पहिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । अहिले देशको परिस्थिति फेरियो, उनी मन्त्री छन् । तर, विद्युत प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यसंग भने उनी आक्रामक देखिन्छन् । प्राधिकरणबाटै प्रतिनिधित्व गर्दै विदेश पुगेका शाक्यलाई जेनजी आन्दोलन र मर्मअनुसार राजीनामा दिन सुझाई रहेका कुलमानले प्रतिशोध साँध्न खोजेका हुन् ? प्रश्न र शंका उब्जिएको छ । 

प्राधिकरणको नेतृत्वमा रहेका शाक्यसँग उनले सहकार्य गर्दै काम गर्ने अवसर दिएर खुला हृदय देखाउनुपर्नेमा राजीनामा दिनुपर्नेतर्फ संकेत गर्न थालेपछि विस्तारै उनको लोकप्रियतामाथि पनि प्रश्न उठ्ने खतरा बढ्न थालेको छ । 

अन्तरिम सरकारमा रहेका मन्त्रीहरुले निष्पक्षता र कार्यसम्पादनको खाका नै बनाएर मूल्याङ्कन गर्ने र सोहिअनुसार काम गर्न नसक्ने हो भने विस्तारै सरकारमाथि नागरिक फेरि आक्रोश पोख्ने ठाउँमा पुग्न सक्ने खतरा रहन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update