
काठमाडौं । ऐतिहासिक संविधानसभाको निर्वाचनबाट संविधान निर्माण भएको एक दशक पुगिसकेको छ । संविधानसभाबाट निर्माण गरिएको यो संविधानलाई नेताहरुले सबैभन्दा उत्कृष्ट भनिरहेका छन् ।
त्यसैले हरेक वर्ष सरकारले संविधान दिवसलाई तीन दिनसम्म उत्सवका रुपमा मनाउने गरेको छ । तर यसपाली जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भने संविधान दिवस विर्सिएको छ । सरकारले संविधान दिवस विर्सिए पनि आन्दोलनबाट विस्थापित अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरु दिवस मनाउन कस्सिएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रम मृत्यु भएकालाई शहीद घोषणा गर्नेदेखि जेनजी आन्दोलनका सन्दर्भमा थुप्रै निर्णयहरु गर्यो ।
अन्तरिम मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरु समेत सम्बन्धित मन्त्रालयमा फिर्ता गर्नेसमेत निर्णय ग¥यो ।
तर संविधान दिवसको दुई दिनअघि बसेको कार्की नेतृत्वको अन्तरिम सरकारले संविधान दिवस विर्सिएको छ । अघिल्लो सरकारले तीन दिनसम्म मनाउने संविधान दिवस अन्तरिम सरकारले बिर्सिए पनि पुराना राजनीतिक दलहरुले भने पार्टीगत रुपमा भए पनि दिवसलाई भब्य बनाउने तयारीमा छन् । जेनजी आन्दोलनकारीहरुको आक्रमणबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति घाइते भएकाले उनीहरुको सैनिक सुरक्षाकैबीच उपचार भइरहेको छ ।
देउवाको अनुपस्थितिमा पार्टीको कार्यसम्पादन समिति बैठक बस्नुका साथै पदाधिकारीहरुकै सल्लाहमा प्रदेश तथा जिल्ला सभापतिहरुसँग र जनसम्पर्क समितिसँग जुम बैठक बसेर पार्टीलाई पुनः उठाउने प्रण गरेका छन् । पार्टी कमिटीहरुसँग जोडिने क्रम शुरु गरेको कांग्रेसले असोज ३ गते ७७ वटै जिल्लामा शान्तिपूर्ण रुपमा संविधान दिवस मनाउने निर्णय समेत गरेको छ ।
जेनजी आन्दोलनकाबीच भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकोप्टर चढेर भागेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि अझै सम्म सार्वजनिक भएका छैनन् ।
ओली सेनाको ब्यारेकमा लुकेर बसे पनि एमालेका अन्य नेताहरु भने सार्वजनिक भइरहेका छन् । बुधबार मात्रै जेनजी आन्दोलनमा ध्वस्त भएको च्यासलस्थित खण्डहर पार्टी कार्यालयमै संविधान दिवसका सन्दर्भमा छलफल गरेका छन् ।
नेपाली कांग्रेस र एमाले जस्तै आन्दोलनबाट रापमा पिल्सिएको नेकपा माओवादी केन्द्र पनि पुनर्गठनको कसरतमा छ । मंगलबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडाको अनुगमन गरेका थिए । जेनजी आन्दोलनबाट अविचलित देखिएका दाहालले पार्टी कार्यालय अझ भब्य बनाउने घोषणा गरे ।
जेनजी आन्दोलनबाट राज्यको तीन प्रमुख अंगहरु ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका ध्वस्त परिएपछि संविधान नै खतराको डिलमा रहेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई ‘बडो मुश्किल’ ले जोगाएको बताएका छन् । यहि संविधानमै टेकेर ६ महिनामा निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति पौडेलको भनाई छ ।
त्यसैले संविधानको औचित्यमाथि नै प्रश्न उठिरहेकाबेला जेनतेज जोगिएको संविधानको स्मरणमा असोज ३ को संविधान दिवस मनाउन दलहरु लागि परेका छन् । तर विगतमा जस्तो संविधान उत्सव मनाउन भने राजनीतिक दलहरुका सहज देखिदैन ।