News 24 Television
जेन–जीका नाममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण छ :  पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भए पनि योजनाबद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ ।

उनले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गरे । आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा उनकाे जोड छ ।

पोखरेलले भने, ‘जेन–जी पुस्ताका मागहरुलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरुमा हामीले उल्लेख गरेका थियौं । तर त्यसको भोलिपल्ट जुन बितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाई लाग्छ । र त्यही शिलशिलामा राज्यका महत्वपूर्ण संस्थाहरुमाथि आगजनी भयो । जननिर्वाचित प्रतिनिधि संस्थाहरुमाथि आगजनी भयो ।  विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमाथि पनि आगजनी भयो, ध्वस्त बनाइए । यही क्रममा हाम्रो पार्टी कार्यालय पनि जलाइएको छ । र यहाँ रहेका बहुमूल्य चिजहरु कुनैपनि बाँकी रहेका छैनन् । यो के देखिन्छ भन्दा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई नसहने तत्वहरुको यसमा हात छ भन्ने अन्दाज गर्न सकिन्छ । होइन भने यस्तो विध्वंसको कुनै आवश्यकता देखिँदैन । यो निकै षड्यन्त्रपूर्ण छ, अपराधिक छ । यसको हामी सबै मिलेर विरोध र भत्र्सना गर्नुपर्छ । र हामी नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत उनले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update