
कास्की । जेन–जी आन्दोलनका क्रममा विध्वंस मच्चिदा क्षतिग्रस्त भएको कस्की जिल्ला अदालत अब कहिले उठ्छ पत्तो छैन । कास्कीमा अन्य अदालतमा जसरी तोडफोड भएको भने होइन, यहाँ त रास्वपा सभापति रवि लामिछानेविरुद्ध जुन फाटमा सुनुवाई हुने गरेको थियो, जहाँ रविसँग सम्बन्धित मुद्दाका फाइल थिए, त्यही खोजी–खोजी जलाइएको थियो । यसरी निशाना साँधेर आगो लगाइएको जिल्ला अदालत कास्कीको अहिले कस्तो छ त अवस्था ?
आगजनीका कारण ध्वस्त भएको भवन, जलेर खरानी भएका सवारी साधनको थुप्रो, यत्रतत्र मिल्कीएका र जलेका कागजातहरु ।
यो दृष्य कास्की जिल्ला अदालत परिसरको हो । गएको भदौं २४ गते जेनजी आन्दोलन चलिरहँदा केहि व्यक्तिले आएर कास्की जिल्ला अदालतमा तोडफोड गरे, अनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेरिरहेको फाँट अर्थात फाँट नम्बर तीन खोज्दै यहि आगो लगाए । फाँट नम्बर ३ मा रवि लामिछानेविरुद्ध लागेको सहकारी ठगीसम्बन्धि मुद्दाका फाइलहरु थिए । हो, त्यसैले पनि कास्की फाँट नम्बर ३ पहिलो निशानामा प¥यो । यसरी हेर्दा पीडितलाई न्याय र पीडकलाई सजाय दिने यो न्याय प्रदानको क्षेत्र अहिले आफैमाथि अन्यायको सहेर बस्नुपर्ने अवस्था छ ।
आगजनी गर्न आउनेहरुले तीन नम्बर फाँट कहाँ छ ? कुन हो भन्दै रवि लामिछानेविरुद्धको मुद्दाका फाइल नष्ट गर्न आगो लगाइदिएको पल यस्तो थियो, मानौं यो कोही सिनेमाको काल्पनिक दृष्य मात्रै हो । तर, यो दुखद् वास्तविकता थियो ।
तीन नम्बर फाटबाट भएको तोडफोड र आगजनी केही वेरमा सिङगो अदालत भवनमा लाग्यो र सबै इजलासहरु पनि जलेर राक हुन्छन् । प्रदर्शनकारीले अदालत भित्रका फर्निचर र कागजात संकलन गरेर अदालत भित्रै आगजनी गरे । अहिले विचाराधिन रहेका ३५ सय मुद्दामध्ये तीन हजार मुद्दाको मिसिल जले भने अहिलेसम्म फैसला भएका ७० हजार मुद्दाको झण्डै ५० प्रतिशत अभिलेख नष्ट भएको छ ।
अहिले अदालत परिसरको सरसफाइको काम चलिरहेको छ भने सुरक्षित रहेका अभिलेखको व्यवस्थापनको काम भइरहेकको छ । पुरै अदालत ध्वस्त भएका कारण अति आवश्यक पक्राउ पुर्जि, म्याद थप र सामान्य थुनछेक वाहेक अदालत नियमित कामकारवाही कहिलेबाट सुरु हुन्छ टुङ्गो छैन । अदालतसँगै अदालत परिसरमै रहेको जिल्ला बार एशोसिएशनको कार्यालय पनि नष्ट भएको छ ।
नेपालकै इतिहासमा कहिल्यै नभएको न्याय प्रणाली माथिको भौतिक आक्रमणले सिंगो देशको न्याय प्राणालीलाई अस्तव्यस्त त बनाएको नै छ, त्यो सगै पीडित थप पीडित बन्ने र पिडक उम्कने खतरा बढेको छ । यसको प्रत्यक्ष प्रभावमा कानून व्यवसायी पनि परेका छन् ।
न्यायालय माथिको यो आक्रमणले अहिलेको पुस्तालाई कानूनी राज्यको महत्व र कानूनविनाको राज्यको एक पलको परिकल्पना कस्तो हुन्छ भन्नेतर्फ सोच्नु पर्ने देखिन्छ । यद्दपि, अब केवल क्षतिको पीडा सम्झिनेमात्रै भन्दा पनि न्यायालयलाई पुनः स्वस्थ जीवन प्रदानमा जुट्नु आवश्यक छ ।