News 24 Television
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै !

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेन–जी को प्रदर्शनका क्रममा मुलुकको अधिकांश सरकारी कार्यालयहरु खण्डहर बने । यसबाट बागमती प्रदेश पनि अछुतो रहन सकेन । 

प्रदेशको मन्त्रालयहरुदेखि मातहतका कार्यालयहरु समेत खरानी बने प्रदशर्नको एक साता बित्दासम्म पनि राजधानी नफर्किएका मुख्यमन्त्री र मन्त्रीहरुले घटनाको ९ औं दिनमा भने बल्ल भग्नावशेष स्थल टेक्ने हिम्मत जुटाएका छन् । 
  
जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेश सरकारको दर्जन बढी संरचनाहरुमा क्षति  पुग्यो । १४ मन्त्रालयहरुमध्ये ८ वटा मन्त्रालयमा आगजनीले पूर्ण क्षति भयो । बाँकी रहेका मन्त्रालयहरुमा समेत तोडफोड गरियो । प्रदेश सभा भवन र वरपर रहेका दलका कार्यालयहरु पूर्णरुपमा क्षति भयो । 

यसरी प्रदेश संरचनाहरुमा आगजनी र क्षति हुँदा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु आफ्नो सुरक्षाको लागि भन्दै काठमाडौँमै बसिरहे, मानौं उनीहरुका लागि यो स्थल अब किलिङ स्पट समान हो । 

विध्वंश मच्चियो, सबै खरानी भयो, अनि बल्ल अहिले घटनाको एक साता बितेपछि विहीबार प्रदेशका मुख्यमन्त्री, मन्त्री सहित प्रतिपक्षी दलहरुले समेत भग्नावशेष प्रदेश सभा भवन, मन्त्रालय तथा कार्यालयहरुको अवलोकन गरे । यसरी एक सातासम्म सरकारमा रहेका दलहरु प्रदेश राजधानी नफर्कनुले प्रदेश संरचना प्रति जनताको आक्रोश बढिरहेको बेला थप मलजल गरेको प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दल नेकपा माओेवादी केन्द्रको धारण छ । 

प्रदेशका मन्त्रालयहरुको अवलोकन, सुरक्षा तथा संरक्षणको दायित्व सरकारकै भए पनि प्रदेश सभा भवन सातै राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको थलो हो । यसको सुरक्षामा प्रदेश सभामा कार्यरत कर्मचारीहरु जुटिरहे । तर यस्तो विसम् परिस्थितीमा यसअघि कुनै दलका सांसदहरुले समेत भग्नावशेस संसद भवन अवलोन गर्न आएनन् । 

सांसदहरु आफै आफ्नो ज्यानको सुरक्षामा लागेका कारण बाहिर निस्किन नपाएको प्रतिपक्षी दलका नेता बताउँछन् । 

प्रदेशका अधिकांश मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरु जलेर ध्वस्त भएको हप्ता बितेपछि राजधानी फर्किएका मन्त्रीहरुले पहिलो पटक आफ्ना मन्त्रालय  मातहतका कार्यालयहरुको अवलोकन गरे ।

यो अवधिसम्म मन्त्रालय र मातहतका कर्मचारीहरुले सरसफाई गरेर खरानीबाट उठ्ने प्रयासमा जुटे । मन्त्रालयको काम कारवाही अघि बढाउनका लागि अभिभाकत्व खोजीरहेका कर्मचारीहरुले एक हप्ता अन्यौलतामा बिताए । 

व्यक्तिगत संरचना देखि सरकारी संचनामा क्षति पुगेको बेला बागमती सरकार मात्रै अघि आउन सक्ने अवस्था नरहेको कारण निस्कन नपाएको मन्त्रीहरु बताउँछन् । लोकतन्त्र र संविधान जोगिदा प्रदेश संरचना पनि जोगिनु नै सबैभन्दा ठुलो उपलब्धि भएको बताउँदै अब संरचनाहरुलाई पुरानै रुप दिने तयारीमा जुट्ने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको दाबी छ ।  

जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशको १४ मन्त्रालयमध्ये ८ वटा काम नलाग्ने गरी क्षति भएका छन् । प्रदेश राजधानी हेटौँडास्थति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय भने जोगिएका छन् । वन तथा वातावरण मन्त्रालयमा सामान्य तोडफोड भएको छ । 

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सबै सामान र कागजात जोगिएको  छ । यसरी प्रदेशमा भएको क्षतिको विवरण संकलन गर्नका लागि सचिव स्तरीय कार्यदल समेत गठन गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update