News 24 Television
संविधान दिवसमा ओलीको पुनरागमन, सच्चिएलान् कि नाइ ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकोप्टर चढेर भागेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म गुमनाम छन् ।सेनाकै ब्यारेकमा लुकेर बसेका ओली शुक्रबार संविधान दिवसको दिन सार्वजनिक हुने तयारीमा छन् । 

त्यसअघि विहीबार नै उनी सेनाको ब्यारेकबाट भक्तपुरको गुण्डु सरेका छन् ।  मुलधारका राजनीतिक दलका पुराना पुस्ताका नेताहरुलाई जेनजीले अस्वीकार गरे पनि नेतृत्वमा रहेका नेताहरु भने फेरि पनि ठाउको उठाउने प्रयत्नमै छन् । तर युवाको माग अनुसार पार्टीको पुनर्संरचना र नेतृत्व परिवर्तनको मुद्दा एमालेभित्रै जबर्जस्त रुपमा उठिरहेको छ । 

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राजीनामा पत्र बुझार प्रधानमन्त्री कार्यालय बालुवाटारबाटै भागेका निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली अझैसम्म पनि सार्वजनिक भएका छैनन् । 

बालुवाटारबाट सेनाले उद्धार गरेर ओलीले सेनाको ब्यारेकमा लगेर राखिएको थियो । ओलीलाई कुन ब्यारेकमा राखिएको छ भन्ने समेत अहिलेसम्म गोप्य छ । पछिल्लो परिस्थितिकाबीच जेनजीसँग वार्ता र अन्तरिम सरकार गठनका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवासमै ल्याएको सेनाले ओलीलाई भने ब्यारेकभित्रै लुकाएको छ । 

अन्य नेताहरु सार्वजनिक भइसक्दा पनि ओली अझै सार्वजनिक भएका छैनन् । ओली केही नेताहरुको सम्पर्कमा रहेको दाबी गरिए पनि पार्टी कार्यकर्ता र जनताका माझ आउन सकेका छैनन् । 

ज्यान जोगाउन भागेका ओलीले भने यस घटनाको नैतिक जिम्मा लिँदै पार्टी नेतृत्व छाड्ने छाँटकाँटसमेत देखाएका छैनन् । ओली निकटका नेताहरु पनि पार्टी नेतृत्वमा ओली निर्विकल्प रहेको अभिब्यक्ति दिइरहेका छन् । तर पार्टी नेताहरुले भने पार्टी पुनर्संरचना र नेतृत्व परिवर्तनको मुद्दा उठाउने बताइरहेका छन् । ओलीले नेतृत्व छाड्ने कुनै छाँटकाँट नदेखाए पनि एमाले नेताहरु केही दिन भित्र पार्टीको बैठक बस्ने र बैठकबाट नै पार्टी पुर्नगठनको बिषयमा निर्णय हुने बताउँछन् । 

अन्तरिम सरकारको नेतृत्व गरे लगत्तै प्रधानमन्त्री सुशिला कार्कीले फागुन २१ गते निर्वाचनको मिति तोकिसकेकी छन् । तर शीर्ष तीन दलका पार्टी कार्यालय भने जलेर ध्वस्त छ । ८४ सालसम्म नै मुलुकको खम्बा बन्ने उद्घोष गरेका ओली भने सडकबाटै सत्ताच्युत हुन पुगका छन् । 

सडकबाटै मिल्काइएका पार्टी अध्यक्ष ओलीलाई बोकेर पुनः जनतामाझ जान एमालेलाई मुश्किल छ । पार्टी संकटको घडिमा रहेको यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको भनाई छ । 

जेनजी आन्दोलनमा राज्यका महत्वपूर्ण संरचना मात्र होइन, नेताहरुको घरसमेत छानी छानी ध्वस्त बनाइएको छ । नेताका घर छानिछानि आक्रमण गर्दै खरानी बनाउनेहरु माथि अनुसन्धान हुनुपर्नेबारेमा पनि एमालेमा छलफल चलेको छ । तर केहि नेताहरु भने यो परिस्थतिको निर्माण कसरी भयो भन्ने बिषयमा गम्भिर भएर छलफल गर्नुपर्ने बताई रहेका छन् । पार्टीलाई वडादेखि केन्द्रसम्म नै रिर्फर्म गर्नुको विकल्प नरहेको नेता कार्यकर्ताहरुको तर्क छ । 

केही नेताहरुले ओलीको पक्षमा बचाउ गरेपनि एमाले नेता तथा कार्यकर्ताहरुले ओली सल्लाहकारमा बसेर युवा पुस्तालाई नेतृत्वमा अगाडि बढाउनु पर्ने बताई रहेका छन् । एमाले कार्यकर्ताको भावना अनुसार अगाडि बढे पुरानै अवस्थामा पुग्न समय नलाग्न सक्छ तर पुरानै अनुहार दोहोरीएमा चुनावमा लजास्पद मत आउने सम्भावना निकै बढी देखिन्छ ।

भदौ २४देखि गुमनाम रहेको ओली भने संविधान दिवसको अवसर पारेर असोज ३ गते सार्वजनिक हुने तयारीमा छन् । ओलीलाई भब्य स्वागत गर्न पार्टीका जनवर्गीय संगठनहरुलाई उर्दी जारी गरिएको छ । संविधान दिवसमा सार्वजनिक हुने तयारीमा रहेका ओलीले पार्टीको पुर्नसंरचना गरेर अघि बढ्छन् वा विगतमा जस्तै अन्ठसन्ठ अभिब्यक्ति दिन्छन्, हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update