News 24 Television
देउवालाई हटाउन खोजेपछि प्रकाशशरणको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाए  । परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताए ।

आईतवार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लडेका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गरे। आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको ठम्याइ छ । 

आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने बताए । अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला भएको बताए। आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भएको उनले बताए । अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ ? उनको प्रश्न छ । 

उनले भने, ‘हाम्रो पार्टीमा पनि एउटा विभिन्न खाले बहस शुरु भएको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रको लागि लामो लडाईं लड्नुभयो । उहाँमाथि त्यस्तो किसिमको त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवारी साथीहरु त्यो आक्रमण भएको अझै उपचारबाट निको नभइसकेको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । हाम्रो पार्टीले त्यसको भत्र्सना गरेको छ ।

प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै पार्टी सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको बताए । समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्नेकुरा आफूहरुले पनि चाहेको जिकिर गरे । महामन्त्री थापाप्रति लक्षित गर्दै उनले बोल्न सहज हुने तर काम गर्न कठिन रहेको टिप्पणी गरे । 

प्रवक्ता महतले संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर अहिलेको सरकार बन्न नसक्नु दुःखद् भएको बताए । अब संविधानसम्मत बाटोबाट अघि बढ्नुपर्ने बताए । जेन जी आन्दोलनको क्रममा पार्टीका कार्यकर्ताहरु प्रवेश गरेर सरकारी र निजी सम्पतीमाथि आगजनी र तोडफोड गरिएको भन्दै उनीहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने बताउनु भयो । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी रहेको बताए । 

प्रवक्ता महतले विराटनगरमा कोईराला निवास जलाउनु भनेको राणाविरुद्ध कृष्णप्रसाद कोईरालाले लढेर गल्ती गरेको भन्न खोजेको हो ? भन्दै प्रश्न गरे। गणेशमान सिंहले २०४६ सालको आन्दोलन गर्नु गल्ती हो भन्न खोजेको हो ? भन्ने प्रश्न उनको छ । नवपुस्ताहरुको आन्दोलनले थप सोच्न बाध्य बनाएको बताए । व्यवधानको बाबजुत देशमा धेरै कुरा विकास भएको उनको दाबी छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update