News 24 Television
मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागिपरेको बताएका छन् । 

प्रगतिशील लेखक संघ, नेपालले आईतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताएका छन् । तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुन नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारण मात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताए । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुल्लमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरुले चलखेल गरिरहेको बताए । 

उनले भने, 'यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिदैन । फागुनमा चुनाव भयो भने के फरक पर्ला । ल काँग्रेस आधा होला, अहिले ८९ सिट छ । ४५ मा झर्ला । एमाले आधा होला । ८० सिट छ । ४० मा आउँला । अनि एस केही आउला, माओवादी आउला । अरु केही आउलान । पार्लियामेन्ट रहने वित्तिकै त संविधान त बाँच्यो । अहिले ट्रयाकमा आएको छ स्थिति । जजस्ले दुई तिहाई ल्याएर संविधानका आधारभूत पिलरहरु त्यो त समाप्त पारौं । सय, सवा सय सिट संख्या संविधानका पक्षधर शक्तिहरुले कायम गर्न सके भने त स्वभाविक छ फेरी ट्रयाकमा आउँछ । यति हो त साथीहरुले खोजेको ? जो जो छन, यी सबै कुराहरुको पछाडि अव म जेनजी भन्दिन । किनभने उहाँहरु निर्णायक ठाउँमा नै हुनुहुन्न ।'

अहिले सतहमा देखिएकाहरुका अभिव्यक्ति हेर्न आग्रह गर्दै ज्ञवालीले थप भने- 'उहाँहरु रनभुल्लमा पर्नुभएको छ । कहाँबाट उहाँहरुले सुरु गर्नु भयो । स्थिति कहाँबाट कहाँ पुग्यो ? उनीहरु यहाँ रोकिन चाहदैनन । या त यस्तो चुनाव गर्ने अघि नै भनेजस्तो सम्पूर्ण अहिलेका राजनीतिक दलहरुलाई किनारा लगाएर चुनाव गर्न त सम्भव होला जस्तो लाग्दैन । कोशिस त्यो नाममा पनि होला । त्यो भयो भने बेग्लै कुरा हो । मेरो विचारमा यस्तो स्थिति सृजना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सृजना होस । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुनेनै छन ।'

उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरुलाई पेलेर निर्वाचन गराउन प्रयास भए पनि त्यो भने सम्भव नहुने बताए । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update