News 24 Television
जेन–जीको प्रभाव विपत्तसम्मै ! हेभी इक्वीपमेन्ट जल्दा उद्दार कठिन !

कास्की । नारायणगढ मुग्लिङ सडकमा पहिरो जाँदा दुई दिनदेखि सडक सुचारु हुन नसक्दा यात्रुहरूको विचल्ली हेरिनसक्नुको छ । यस्ता प्राकृतिक विपद्मा यसपहिले राज्यसँग आवश्यकता अनुसारका ठुलाठुला उपकरण थिए, जसले गर्दा पहिरो गएको केही घण्टामै परिस्थिति सहज बनाइन्थ्यो । तर, अहिले राज्यका प्राय सबै निकायसँग ठुला उपकरण छैनन् । भदौं २४ गते को आन्दोलनका क्रममा मच्चिएको आगलागी र तोडफोडसहितको विध्वंसले उपकरण सबै नष्ट हुँदा समस्या झन् विकराल बन्ने देखिएको छ । 

जेन–जी आन्दोलनका क्रममा भदौ २४ मच्चिएको विध्वंसले दीर्घकालीन प्रभाव पार्न थालेको छ । अर्बौंको सम्पत्तिको क्षति एकातिर, अर्कातिर अब प्राकृतिक विपत्तिमा तत्काल उद्दार एवम् सहजिकरणका काम नै अघि बढाउन मुस्किल देखिएको छ । पहिरोले मुलुकका मुल सडक एवम् चलायमान रहने सडक ठप्प छन् । यात्रुहरु दुई दिनदेखि सडकमा विचल्लीमा छन् । तर, पहिरो पन्छ्याउनका लागि पर्याप्त उपकरण छैनन् । 

जसोतसो काम चलाउका प्रयास राज्यले गरिरहेको छ । ठुलाठुला उपकरणहरुमाथि जेनजी आन्दोलनका दिन आगो लगाइयो र ध्वस्त पारियो । यसको प्रभाव सबै प्रदेश सरकारमा परेको छ । विशेषगरि यतिबेला गण्डकी प्रदेश झन् प्रभावित देखिएको  छ । 

प्राकृतिक विपदपछिको व्यवस्थापनमा चाहिने अत्यावश्यक उपकरण हुन्, हेभी इक्वीपमेन्ट, तर पोखराको हेभी इक्वीपमेन्ट डिभिजनका धेरै उपकरणहरू आन्दोलनका क्रममा जलाएर, तोडफोड गरेर ध्वस्त पारिएका छन् । अहिले अवस्था सामान्य भएपनि कुनै प्राकृतिक विपत्ति आइलाग्यो वा सडक अवरुद्ध भएमा गण्डकीमा त्यसको व्यवस्थापनमा निकै ढिलाइ  र कठिनाइ हुने देखिएको छ । जनतासँग प्रत्यक्ष सम्पर्क नराख्ने अनि जनतालाई अत्यन्तै सहज बनाउने एउटा महत्त्वपूर्ण कार्यालय हो हेभी इक्वीपमेन्ट डिभिजन र त्यहाँ रहेका उपकरणहरू । 

विकासका नयाँ संरचना निर्माणदेखि विविध कारणले सडक तथा राजमार्ग अवरुद्ध हुँदा त्यो सबै पन्छाउने र सुचारु गर्ने जिम्मेवार प्राप्त निकाय हो, हेभी इक्वीपमेन्ट डिभिजन ।

कार्यालयका संरचनाहरू त जलाइयो जलाइयो त्यो सँगसँगै विकास र विपत पर्दाका सारथी यी उपकरणहरूलाई समेत कोहीलाई जलाएर राख बनाइयो, त कोहीलाई लुटेर लगी विभिन्न कार्यालयहरू तोडफोड गर्न प्रयोग गरियो । 

कार्यालयका र कार्यालयमा मर्मतका लागि आएका विभिन्न सरकारी निकायका गरी कुल २८ वटा सवारी साधन तथा मेसिन उपकरण पूर्णरूपमा ध्वस्त भएका छन् । यसैगरी तीनवटा सवारी र उपकरणमा मध्यम क्षति भएको छ भने १९ वटा सवारी तथा उपकरणमा आंशिक क्षति भएको छ ।

गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा काम गरिरहेका उपकरणहरु भने सुरक्षित रहेको कार्यालयले जनाएको छ । पोखरा र पोखरा आसपासको क्षेत्रमा कुनै विपत परे वा सडक तथा राजमार्ग अवरुद्ध भए तत्काल नै त्यो अवरोध हटाउन हाललाई असक्षम रहेको हेभी इक्वीपमेन्ट डिभिजन पोखराका प्रमुख टेकराज बोहरा बताउँछन् ।

यही कार्यालयबाट लुटेर लगिएका एस्काभेटरले पोखराका विभिन्न कार्यालय, चोक, शहीद तथा राष्ट्रका लागि योगदान गर्ने विभिन्न व्यक्तिको शालिक तोड्न प्रयोग भएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update