News 24 Television
प्रचण्डको विशेष महाधिवेशन चाल ! भित्री योजना के ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशनको अन्तिम तयारीमा जुट्ने जमर्को गर्दैछ । स्थायी समितिबाट विशेष महाधिवेशनको एजेण्डा पारित गरेको माओवादी केन्द्रले यसलाई केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्नेछ । त्यसपछि माओवादीको केन्द्रीय समिति भंग हुनेछ, भने मंसिरमा विशेष महाधिवेशनको तयारी गर्नेछ । तर, विशेष महाधिवेशनले कस्तो नेतृत्व तय गर्ला ? के प्रचण्ड नै दोहोरिएलान ? चासो बढेको छ । 

जेनजी आन्दोलनपश्चात पार्टी नेतृत्वमा लामो समयदेखि रहेका नेताहरु रक्षात्मक बनिरहेका छन् । उनीहरुले कहिलेसम्म पार्टीको नेतृत्व गर्छन् ? आम प्रश्न बनिरहेका बेला माओवादी केन्द्रले तत्काल विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । 

पार्टीमा जनार्दन शर्माले नेतृत्व परिवर्तनको विषय उठाइरहेका बेला जेनजी आन्दोलनले सत्ता उलटफेर गर्नु र त्यहि मौका छोपेर नेतृत्वमाथि प्रहार गर्न खोजिरहेका जनार्दनलाई प्रचण्डले विशेष महाधिवेशनको निर्णय गरेर चौका दिनुमा राजनीतिक जोड घटाउ तीब्र बन्न पुगेको छ । नेतृत्वको तानातान चलिरहेको बेला अब प्रचण्ड विशेष महाधिवेशनबाट बाहिरिएलान् त ? यस्तो सम्भावना भने कम देखिन्छ । 

के भयो पदाधिकारी बैठकमा ?

माओवादी केन्द्रको पदाधिकारी बैठकमै प्रचण्डले विशेष महाधिवेशनको पासा फाले । त्यसमा प्रचण्डले धेरैलाई आश्चार्यमा पारेका थिए । त्यसपछि पदाधिकारी बैठकमा प्रचण्डलाई तीन जना नेताबाहेक कसैले पनि काउन्टर दिएनन् ।

उपस्थित २२ पदाधिकारीमध्ये नारायणकाजी श्रेष्ठले आफूलाई कार्यबाहक दिन प्रस्ताव गरेका थिए । यो प्रस्तावमा जनार्दनले पनि सहमति जनाएका थिए भने अर्का पदाधिकारी गिरिराजमणी पोखरेलले मध्यभागबाट नारायणकाजीलाई दिदा फरक नपर्ने मत पेश गरेको बताइन्छ । तर, अन्य नेताहरुले भने प्रचण्डले नै नेतृत्व गर्दै जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न सक्ने भन्दै प्रचण्डलाई विश्वास गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थायी समिति बैठक र प्रचण्ड

स्थायी समिति बैठक पनि लम्बेतान बसेन । प्रचण्डले बैठकमा केहि एजेण्डा पेश गरे । सामान्य विवादकाबीच पारित भयो । केन्द्रीय समिति बैठक समेत एकदिनमात्रै बस्ने प्रचण्डले बताएका थिए । यसमा नारायणकाजी श्रेष्ठले नै फरक मतमा छलफल हुनुपर्ने भन्दै जनार्दनलाई साथ दिन खोजेका थिए । तर, नेतृत्व परिवर्तनदेखि अन्य विषयमा सोधिएको प्रश्नमा जनार्दन शर्मा महाधिवेशनले निर्णय गर्ने भन्दै बाहिरिए ।

जनार्दनले जस्तै स्थायी समिति बैठकले गरेका निर्णय सुनाउदै प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले निर्वाचनदेखि अन्य विषयमा छलफल भएको बताए । 

माओवादी स्थायी समितिले केन्द्रीय समितिमा प्रचण्डको प्रस्ताव लैजाने निर्णय गरेको छ । भने विशेष महाधिवेशनदेखि अन्य पार्टीसंगको एकता, ध्रुबिकरणजस्ता विषयमा समेत जोड दिने भनेको छ । तर, प्रचण्ड भने विशेष महाधिवेशनले नै सबै कुरा टुंगो लगाउने भनिरहेका छन् । माओवादी केन्द्रभित्र नेतृत्वको बहस चर्किएपनि प्रचण्डलाई कसैले रिप्लेस गर्ला ? शंकाहरु भने व्याप्त छन् ।

उसोतः अन्य पार्टीको तुलनामा माओवादी केन्द्रले छिटो निर्णय लिदै विशेष महाधिवेशनमा जाने निर्णय गरेपछि यसको चर्चा अन्य ढंगले हुन थालेको छ । तर, विशेष महाधिवेशनअघि कुनै पार्टीसंग एकतामा जाने स्थिति बनेमा भने फरक ढंगले पार्टी अघि बढ्ने प्रचण्डले बताएको भन्न थालिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update