
झापा । दशैं–तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गरि झापाका व्यापारीहरुले राम्रै तयारी गरेका थिए । तर, अपेक्षा विपरीत यस वर्षको व्यापार सुस्त हुँदा उनीहरु चिन्तित बनेका छन् । विगत लामो समयदेखि व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरु यस पेशाबाटै विस्थापित हुने अवस्था सृजना हुन थालेको छ ।
व्यापारीहरूको लागि दशैं–तिहार जस्ता ठूला चाडपर्वहरू व्यवसायीक सिजनको रूपमा रहने गर्दैछ । तर, यसपटक जेनजीको आन्दोलनले देश नै तनावग्रस्त बन्दा व्यापार व्यवसाय चौपट भएको स्थानीय व्यापारीहरू भनाइ छ । काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, बिर्तामोड, बुधबारे, शनिश्चरे, भद्रपुर, सुरूङ्गा, गौरादह र दमकलगायतका प्रमुख बजारमा दैनिक चहलपहल सामान्य भए पनि खरिदबिक्री भने न्यून रहेको व्यवसायीहरुको भनाइ छ ।
बजारमा चहलपहल बढ्दै गएपनि सामान खरिद गर्ने सर्वसाधारण नआउँदा खरिदबिक्रीको कारोबार कम रहेको उनीहरूको भनाइ छ । पछिल्ला वर्षहरूमा दशैं नजिकिँदै गर्दा बजारमा सामान राख्ने ठाउँसम्म अभाव हुन्थ्यो । तर, कोभिड पछाडिका वर्षहरूमा गोदाममै सामान थन्किएको छ । देशमा विभिन्न आन्दोलन, अस्थिरता, आर्थिक मन्दी लगायतले व्यापार घटेको व्यवसायीको भनाइ छ ।
व्यापारीको लागि दसैँ महिना अफ सिजन भएपनि चाडपर्वको यो दुई महिना सिजन हो । व्यवसायमा चहलपहल कम हुँदा कपडा, जुत्ता चप्पल, कस्मेटिक संगै किराना लगायतका सवै व्यापार सुस्ताएको व्यापारीको गुनासो छ ।
व्यापार सुस्त हुँदा साना उद्यमीहरू बढी प्रभावित भएका छन् । दैनिक खर्च, तलबभत्ता र भाडा धान्न मुस्किल पर्ने अवस्था आएको मेची उद्योग वाणिज्य संघको कार्यकारी निर्देशक गोपाल बस्नेत बताउँछन् । व्यापार व्यवसाय नचल्दा व्यवसायी समस्या रहेका छन् । यस बिषयमा राज्यले चासो दिन आवश्यक रहेको उनको भनाइ छ ।
कतिपय व्यवसायीले ऋण लिई सामान भित्र्याएका हुँदा चाडपर्व सकिए लगत्तै ठूलो दबाब झेल्नुपर्ने देखिएको छ । यता, उपभोक्ताले भने बजारमा सामानको मूल्य अत्यधिक भएको गुनासो गर्ने गरेका छन् । उपभोक्ताको क्रयशक्ति घटेको बेला सामाग्रीहरूको बढ्दो मूल्यका कारण उपभोक्ताले चाहिने धेरै सामान छान्न नसक्ने अवस्थाले किनमेल घटेको जानकार बताउँछन् ।
चाडपर्व चलिरहेको अवस्थामा व्यापारीहरूको आशा भने अझै कायमै छ । अन्तिम घडीमा व्यापार बढ्ने विश्वास उनीहरूमा रहेको देखिन्छ । तर, गत वर्षहरूको तुलनामा यो चाडपर्व झापाका व्यवसायीका लागि चुनौतीपूर्ण हुने संकेत प्रष्ट देखिएको छ ।