News 24 Television
देवी छिन्नमस्ता दर्शनका लागि लाखौंको भीड, विशेष सुरक्षा व्यवस्था

सप्तरी । नेपालीहरुको महानचाड वडादशैंको रौनकले देशभरको माहोल उल्लासमय छ । यस समय यात्रा  गर्नेहरुकोदेखि शक्तिपीठहरुमा दर्शन गर्नेहरुको आवतजावतले प्राय क्षेत्रहरु व्यस्त देखिन्छन् । 

त्यसैले सुरक्षा निगरानी पनि बढाइएको छ । अन्य जिल्लाहरुमा जस्तै सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा दशैंका समय भक्तजनको घुइँचो लाग्ने गर्छ । यहिले यहाँ लाखौंको संख्यामा भक्तजन मन्दिर आउने भएकोले आवतजावतको सुविधादेखि सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै तयारी थालिएको छ । 

यो सप्तरीमा रहेको ऐतिहासिक शक्तिपीठ छिन्नमस्ता हो । देवीशक्तिको विशेष कृपा प्राप्त हुने विश्वासले यहाँ लाखौंको संख्यामा दर्शनार्थी आउने गर्छन् । विशेषगरि देवीशक्ति पीठ, त्यसमा पनि छिन्नमस्ता देवीको शक्ति स्वरुप यस क्षेत्रमा उपस्थित रहेकोे विश्वाससहित दशैंका समय यहाँ विशेष पूजापनि गरिन्छ । दशैंको उल्लास, भक्तजनको भीडले धर्मकर्ममय वातावरण एकातिर, अर्कातिर, भक्तजनको सुरक्षाको पनि प्रदान गर्नु पर्ने छ । 

सप्तरीको ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरमा दशैंको भव्य तयारी चलिरहेको छ अहिले । विशेषगरी सप्तमी, अष्टमी र नवमीका दिन भक्तजनहरूको अत्याधिक भीड लाग्ने गरेकोले सो तीन दिन लक्षित गरेर विशेष तयारी थालिएको छ । 

पालिका प्रमुख, जिल्लाका सुरक्षा निकाय तथा मन्दिर समिति बैठक बसेर दशैंबारे कार्ययोजना तयार गरेका छन् । मन्दिर परिसरमा भक्तजनको सहज आवागमन र सुरक्षालाई ध्यान दिँदै  बसेको बैठकले विशेष योजना सार्वजनिक गरेको छ । भीड व्यवस्थापनका ठूलो संख्यामा प्रहरी परिचालन, मन्दिर क्षेत्रलाई सिसिटिभीको निगरानी र आवतजावतमा सहजिकरण गर्ने निर्णय गरिएको छ । 

यी तिन दिनमा नेपाल तथा भारतका करिब १० लाख भक्तजन पूजाआजाका लागि छिन्नमस्ता आउने गरेको छन् । यसपाली यो भीड अझ बढने अनुमान गरिएको छ । जिल्लाको सदरमुकामबाट आउने बाटो संघ सरकारमार्फत ठेक्का लागेपनि अलपत्र रहेको हुँदा अवस्था जिर्ण रहेको छ । उक्त बाटो तथा मन्दिर पुग्ने अन्य बाटो पनि दशैमा सहज बनाउन मर्मत गरिने गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी बताउँछन्। 

तीन दिनको अवधिमा करिब ४ हजार खसीबोकाको बली हुने गरेको मन्दिरको तथ्याङ्क छ । भाकल गरेका भक्तजनले विशेष पूजा गर्ने परम्परा यस वर्ष पनि निरन्तरता पाउनेछ । 

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अत्याधिक भीड हुने भएकाले त्यही अवधिमा भक्तजनलाई बढी सतर्कता अपनाउन अनुरोध गरिएको छ, साथै भीआइपीलाई बिहान ८ बजेसम्म पास लिएर पूजा सम्पन्न गर्न मन्दिर समितिले आग्रह गरेको छ ।

मधेश प्रदेशकै पर्यटकीय स्थलको रुपमा छिन्नमस्ता भगवती मन्दिरमा सरकारले ध्यान दिनु आवश्यक रहेको छ । संघ सरकारले ध्यान दिए छिन्नमस्ता मन्दिरमा अझ बढी  बाह्य पर्यटक भित्र्याउने सकिनेछ ।   

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update