
कास्की । कास्की जिल्ला मालपोत कार्यालयले आंफ्नो श्रेस्ता कायम गर्नको लागि भन्दै कास्की जिल्लाका जग्गाधनीहरुलाई सूचना निकालेको छ । तर मालपोत कार्यालयले झन्झटिलो र आर्थिक दृष्टिकोणले समेत खर्चिलो प्रक्रिया अपनाउन खोजेको भन्दै विरोध शुरु भएको छ ।
जेनजी आन्दोलनका क्रममा कास्की, चितवन र कलंकी मालपोत कार्यालयमा आगजनीबाट कागजपत्र जनाएर नस्ट भएका छन् । कार्यालयले आंफ्नो श्रेस्ता कायम गर्नको लागि भन्दै जग्गाधनीहरुलाई सूचना निकालेको छ । कार्यालयले झन्झटिलो र आर्थिक दृष्टिकोणले समेत खर्चिलो प्रक्रिया अपनाउन खोजेको भन्दै विरोध गरेका छन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचना सहित जग्गाको अभिलेख जलेर नष्ट भएको छ ।
कार्यालयको संरचना सहित अभिलेख जलेपछि अब अभिलेख कायम गर्न सेवाग्राहीले बिगतमा भन्दा धेरै सास्ती व्यहोर्नुपर्ने अबस्था सिर्जना भएको छ । सबै अभिलेख जलेर नष्ट भएकोले हाल सेवा अबरुद्ध रहेको र अब सेवालाई सुचारु गर्न नष्ट भएका जग्गाधनी श्रेस्ता कायम गर्ने प्रयोजनका लागि जग्गाधनी स्वयम उपस्थित हुनुपर्ने र थुप्रै किसिमका कागजात र सिफारिस बुझाउनु पर्ने छ । सामजिक सञ्जालमा विरोध भएपछि पोखरा उद्योग वाणिज्य संघले बिहीबार प्रक्रिया सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
जग्गाधनी स्वयम उपस्थित हुनुपर्ने प्राबधान मात्र नभएर जग्गा रहेको स्थानीय तहबाट जग्गा भोग सम्बन्धि किटानी सिफारिस अनि जग्गाधनी यकिन गर्नको लागि भन्दै स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीनपुस्ते खुलेको फोटो टाँसिएको किटानी सिफारिस समेत चाहिने छ । जग्गाधनी अन्यत्र भएमा स्वयम् उपस्थित हुन कठिन हुने मात्र नभएर जग्गा रहेको स्थानीय तहबाट जग्गा भोग सम्बन्धि किटानी सिफारिस र जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँसिएको किटानी सिफारिस चाहिने प्राबधानले जागाधनीहरुलाई झन्झटिलो भएको व्यवसायीहरु बताउँछन् ।
यसअघिको व्यवस्था अनुरुप नै सूचना जारी भएको र लालपूर्जाको सक्कल प्रति हुनेको हकमा कुनै चिन्ता मान्नु नपर्ने र त्यो ३५ दिनभित्र नै कार्यालय आउनुपर्छ भन्ने पनि नरहेको कार्यालयले जनाएको छ ।
यता एकजना सूचना अभियन्ताले सूचनाको हक प्रयोग गरी केही महिना अघि मागेका कास्कीका २ हजार भन्दा बढी कित्ताको अभिलेख मालपोत कार्यालयलाई बुझाएका छन् । यसले कार्यालयलाई केही हदसम्म भएपनि सहयोग पुग्ने उनको विश्वास छ ।
मालपोत कार्यालय कास्कीले बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्र, जग्गाधनीसँग भएको सक्कल पुर्जा, पारित लिखत जग्गा खरिदबिक्री वा बकसपत्र आदि पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।
यस्तै, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमतिपत्र, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिद, फिल्डबुक र नक्सा, ३५ दिने सार्वजनिक सूचना र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र पनि पेस गर्नुपर्ने सूचना जारी गरेको थियो । यो सूचनाले सर्वसाधारणमा त्रास सिर्जना भएको तथा सूचनामा उल्लेखित ११ प्रकारका कागजात र प्रमाणहरु दिनुपर्ने भएको छ । कास्कीमा झण्डै ३ लाख सेवाग्राहीको लालपूर्जा बनाउनुपर्ने हुन्छ ।