News 24 Television
बेलायती दम्पत्तिको जोश, साइकलबाटै आइपुगेक नेपाल, पोखरामा भव्य स्वागत

काठमाडौं । आजभोली साइकलको प्रयोग कुनै गन्तब्यमा पुग्नको लागि भन्दापनि स्वस्थ रहनका लागि व्यायामका रुपमा हुन्छ । तर, बेलायतका एक दम्पती जो साइकलबाटै यात्रा गरेर नेपालसम्म आइपुगेका छन् । 

तपाइले साइकल चलाउदैँ कहाँसम्मको यात्रा गर्नुभएको छ भनेर प्रश्न गरियो भने अधिकांसको जवाफ हुन्छ विहान बेलुका व्यायमको लागि मात्र चलाउछु । तर तपाईलाई पत्यार नलाग्न सक्छ साइकल चलाएरै एक दम्पती बेलायतबाट पोखरासम्म आए भन्ने कुरा सुन्दा । तर, यो सत्य हो । 

दृष्यमा साइकल चलाइरहेका यी दम्पती हुन बेलायती नागरिक थोस्टर ब्रुस र उनकी श्रीमती डा. एमा ब्रुस । ५१ वर्षिय बु्रस दम्पतीले सात महिना सात दिन पहिला बेलायतबाट नेपालका लागि साइकल यात्रा सुरु गरेका थिए । यो अवधिमा उनीहरुले २० देश पार गरे भने पोखरासम्म आइपुग्न मात्रै १४ हजार किलोमिटरको यात्रा गरे । 

ब्रस दम्पतीको यो तेस्रो नेपाल यात्रा हो । यसअघि पनि उनीहरु विमानमार्फत नेपाल आएका थिए । तर, यो पटक भने सबैलाई चकित पार्नेगरी बेलायतदेखि पोखरासम्म साइकलमा आएका हुन् । नेपालको प्रकृति, आतिथ्यता संस्कारबात निकै प्रभावित भएकै कारण नेपाल आइराख्न मन लाग्ने बु्रसकी श्रीमती डा एमा बताउँछिन् ।  

बेलायतदेखि साइकल यात्रा गरेरै पोखरा आएका बु्रस दम्पतीलाई स्थानीय आमा समूह र पर्यटन व्यवसायीले फुलमाला लगाएर स्वागत गरेका छन् । ब्रस दम्पतीको यो यात्राले नेपालको पर्यटनलाई विश्वसामु पु¥याउन मद्दत पुग्ने विश्वास पर्यटन व्यवसायी तथा स्थानीय आमा समूहकी अगुवा गोमा ढकाल गर्छिन् ।  

जेनजी आन्दोलन र मच्चाइएको विध्वशंको कारण कतिपय देशले आफ्ना नागरिकहरुलाई नेपाल नजान सुझाव दिए पनि बु्रस दम्पतीको यो साइकल यात्राले नेपाल सुरक्षित छ र पर्यटकका लागि उत्कृष्ट गन्तब्य हो भन्ने सन्देश दिन सफल भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update