News 24 Television
जेनजी आन्दोलनबाट ध्वस्त कास्कीको राजस्वले थाल्यो सेवा

कास्की । जेनजी आन्दोलनको क्रममा आगलागीबा ध्वस्त बनेको पोखराको आन्तरिक राजस्व कार्यालयले क्यान्टीनको बराण्डाबाटै सेवा प्रवाह शुरु गरेको छ । कास्कीमा रहेको कार्यालयमा आगजनीबाट ध्वस्त बनेपछि सम्पूर्ण सेवा सुचारु कहिलेबाट हुन्छ भन्ने अन्योलताकाबीच राजस्व संकलनको काम भने थालिएको छ । 

क्यान्टीनको बराण्डामा कम्प्युटर र टेबुल राखेर यो के गरिएको होला र कहाँको दृष्य होला भन्ने तपाईलाई लाग्न सक्छ । नलागोस पनि कसरी अहिलेसम्म यस्तो दृष्य नेपाली जनताले विरलै देखेका थिए । यो दृष्य हो आन्तरिक राजश्व कार्यालय पोखराको । 

जेनजी आन्दोलनका नाममा विध्वंशकारीहरुले कार्यालयलाई पूर्णरुपमा ध्वस्त बनाइदिए । करदाताहरुको एक लाख भन्दा बढि फाइल जलेर खरानी भए । कार्यालयका सम्पूर्ण सम्पति नष्ट पारिए । तर कार्यालयले सेवाग्राहिलाई सहज होस् भन्दै आवश्यक स्रोत साधानको व्यवस्था गरि क्यान्टीनको बराण्डाबाट सेवा प्रवाह गर्न थालेको छ । 

कार्यालयका महत्वपूर्ण कागजातसहित अन्य सम्पति सवारी साधन सबै जलेर नष्ट भए पनि करदाताहरुको सम्पूर्ण विवरण र तथ्याङक इन्टरनेट शर्भरमा सुरक्षित रहेका छन् । त्यसैले पनि भौतिक सम्पती नष्ट भए पनि तत्कालै कार्यालयको काम संचालन गर्न सहज भएको हो ।

अन्तरिक राजश्व कार्यालयमा कर संकलनको काम भए पनि राजश्व अनुसन्धानका कामहरु भने अझै सुरु हुन सकेको छैन । प्रारम्भिक मुल्याङकन अनुसार जेनजी आन्दोलनको क्रममा भवन वाहेक पाचँ करोड भन्दा बढिको क्षती भएको कार्यालय प्रमुख ढुङ्गानाको दावी छ । 

जेनतेन राजश्व संकलनको काम क्यान्टीनको बराण्डाबाट भए पनि कार्यालयका अन्य काम कारवाही कहिलेबाट सुरु हुन्छ त्यसको भने ठेगान छैन । कार्यालय परिसरमै रहेको राजश्व संकलन गर्ने बैँकको शाखा समेत ध्वस्त भएकाले अहिलेको लागि पोखराको न्यूरोडमा रहेको ग्लोबल आइएमई बैंकमा राजश्व दाखिला गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update