News 24 Television
झापावासी सताउँदै एशियन हाइवे ! सचेत नभए ज्यानकै जोखिम

झापा । पूर्वी नेपाल क्षेत्रको काँकरभिट्टादेखि लौकहीसम्म १ सय २० किलोमिटर मध्ये अहिले ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नती कार्यले गति लिइरहेको छ । तर, झापाहुँदै अघि बढ्ने एसियन हाइवे खण्डमा निर्माण कार्यमा देखिएको चरम लापरबाही र डाइभर्सनको अव्यवस्थापनले यात्रुहरू मात्र होइन, यातायात व्यवसायीहरू समेत दैनिक सास्ती भोगिरहेका छन् । 

झापाहुँदै अघि बढ्ने एसियन हाइवे खण्डमा निर्माण कार्य अहिलेपनि अस्तव्यस्त छ । निर्माणमा देखिएको चरम लापरबाही र डाइभर्सनको अव्यवस्थापनले यात्रुहरू मात्र होइन, यातायात व्यवसायीहरू समेत दैनिक सास्ती भोगिरहेका छन् । 

दैनिक हजारौं सवारीसाधन र यात्रुहरू आवतजावत गर्ने यो मुख्य सडकमा निर्माण कार्य सुरु भएयता धुलो र खाल्डाखुल्डीले दैनिकी प्रभावित बन्न पुगेको हो । 

कतिपय स्थानमा त सडक नै नदेखिने गरी धुलो उड्ने गरेको छ, भने जताततै खाल्डाखुल्डीको कारण यात्रा थप जोखिममा पर्ने गरेको छ । 

यस सडकमा गर्मीमा धुलाम्यै र पानी परेपछि खाल्डाखुल्डीमा पानी जमेर हिलाम्मे हुँदा यात्रा थप कष्टकर बन्ने गरेको भएपनि सम्बन्धित पक्षलाई कुनै वास्ता नभएको गुनासो स्थानीयको छ । सडक अव्यवस्थित र अस्तव्यस्त हुँदा पैदलयात्रुलाई हिडडुल गर्न, साथै साइकल, मोटरसाइकल, सिटी रिक्सा, अटोलगायत सानो तथा ठुला जुनसुकै सवारीसाधन चढ्दा समेत जोखिम मोल्नु परिरहेको छ । 

ठेकेदार कम्पनीले निर्माण कार्यमा बेवास्ता र ढिलासुस्ती गर्दै आए पनि सम्बन्धित निकायले त्यसको उचित अनुगमन नगर्दा समस्या सृजना भएको जानकारहरू बताउँछन् । 

निर्माण सामग्री अव्यवस्थित रूपमा थुपारिएका छन्, भने डाइभर्सनहरू मापदण्ड अनुसार सुरक्षित बनाइएको छैन । कतिपय ठाउँमा एकैपट्टिको लेन बन्द हुँदा अनावश्यक जाम लाग्ने गरेको यातायात व्यवसायीहरु बताउँछन् । सडक निर्माण सुरु भएपछि यात्रा गर्न असहज मात्र नभई दैनिक जोखिम पनि बढेको छ । 

सडकको अस्तव्यस्त अवस्थाले यातायात व्यवसायीहरू पनि ठूलो समस्यामा परेको बताउँछन् । उनीहरुका अनुसार अहिले दैनिक रूपमा सवारीसाधन बिग्रिने, पार्टपुर्जा बदल्नुपर्ने र मर्मत खर्च बढेको छ । त्यस्तै यात्रुहरू समयमै गन्तव्यमा नपुग्दा असन्तुष्टि बढ्ने गर्दछ र व्यवसायको प्रतिष्ठा पनि घट्दै गएको छ ।

निर्माणस्थलमा आवश्यक सुरक्षा चिन्ह, चेतावनी बोर्ड र डाइभर्सन साइन बोर्डको समेत अभाव छ । यसले राति सवारी चलाउनेहरूका लागि दुर्घटनाको जोखिम झन् बढाएको छ। पछिल्लो तीन महिनामै यो खण्डमा साना–ठूला गरी दुई दर्जनभन्दा बढी सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

एसियाली विकास बैंक युएसडीको तीन सय मिलियन तथा नेपाल सरकारको ६२ दशमलव ४७ मिलियनको लागतमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक मध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको काँकरभिट्टा–लौकही सडक आयोजनाले जनाएको छ । 

यता, ठेकेदार कम्पनीले पनि बर्खाको कारण केही ढिलाइ भएको भएता पनि अब सहज रुपमा अगाडी बढीरहेको दावी गर्छन् । उनीहरुले सडक निर्माणमा लापरवाही नगरिएको तर, कहिँकतै सामान्य कमजोरी भएको हुनसक्ने बताउछन् 

एसियन हाइवे देशको गौरवको परियोजना हो । यस्तो महत्वपूर्ण सडकमा देखिएको लापरबाहीले नेपालको छवि नै खराब बनाउँन सक्छ । विकासको नाममा जनजीवनलाई जोखिममा पार्ने यस्तो बेवास्ताप्रति तत्काल ध्यान नदिइए सम्भावित दुर्घटनालाई नकार्न सकिदैन । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update