News 24 Television
वाम ध्रुवीकरणः प्रचण्ड, माधव र विप्लव एकता नजिक

काठमाडौं । जेनजी आन्दोलनपछि मुलुककै ठुलो शक्तिका रुपमा रहेका वामपन्थी दलहरु कसरी अगाडि बढ्छन् भन्ने धेरैको चासो छ । बाम दलहरुमा सबै भन्दा ठुलो दलका रुपमा रहेको एमालेलाई जनता माझ जान पछिल्लो परिस्थितिका कारण सजिलो छैन । वामपन्थी दलहरु मध्येको दोस्रो र राजनीतिक दलहरुबीच तेस्रो शक्तीका रुपमा रहेको नेकपा माओवादी केन्द्र छठ पर्व लगत्तै साना वाम घटकहरुसँग एकताको तयारीमा छ । 

वामपन्थी दलहरु बीचको दोस्रो र मुलुकको तेस्रो ठुलोशक्तिको रुपमा रहेको नेकपा माओवादी केन्द्र साना बाम घटकहरुसँग छिट्टै एकताको तयारीमा छ । जेनजी आन्दोलनअघि नै माओवादीसहितको चार दलीय समाजवादी मोर्चाबीच एकताको छलफल भइरहेको थियो । जेनजी आन्दोलनपछि एकताका लागि सबै दलहरुलाई दबाब बढेको छ । 

छठपर्व लगत्तै बाम घटकहरुबीच एकता घोषणा हुने प्रचण्डले घोषणा गरिसकेका छन् । तर मुलुकको दोस्रो र वामपन्थी आन्दोलनको पहिलो शक्ति एमाले भने बदलिँदो परिस्थितिकाबीच कसरी अगाडि बढ्छ अझै स्पष्ट खाका आइसकेको छैन । एमालेका दोस्रो तहका नेताहरु पार्टी पुर्नगठन र रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताए पनि ओली तत्काल नेतृत्व परिवर्तन नहुने बताइरहेका छन् । यद्यपि नयाँ परिस्थितिकाबीच पछिल्लो एक महिनामा एमालेको सचिवालय बैठक र केन्द्रीय समितिको बैठक सम्पन्न भइसकेको छ । 

एमालेले ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने निर्णय गरिसकेको छ । त्यतिन्जेलसम्म ओलीकै नेतृत्व रहने स्पष्ट छ ।  

माओवादीमा पनि नेतृत्व परिर्वतनको मुद्धा चर्काे बनेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी भित्र नेतृत्व परिर्वतनको मुद्धालाई चर्को बनाइरहँदा प्रचण्डले पार्टी केन्द्रीय समिति नै विघटन गरी महाधिवेशन आयोजक समितिको संयोजक आफै बनेका छन् । 

त्यसैले प्रचण्ड महाधिवेशनअघि नै विप्लव नेतृत्वको नेकपा, नेकपा एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने तयारीमा छन् । यी दलहरुसँग एकता घोषणा गरी आगामी महाधिवेशनलाई एकताको महाधिवेशन गर्ने योजनामा प्रचण्ड छन् । छठ पर्वपछि वृहत्त एकता घोषणा गरिने प्रचण्डको दाबी छ । 

वामपन्थी आन्दोलनको दुई ठुला शक्ति माओवादी र एमाले एकअर्कालाई कहिले एकता त कहिले वर्गशत्रु घोषणा गर्ने गरेका छन् । माओवादी केन्द्रका संयोजक प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै एकले अर्काको उछिटो काढ्न छाडेका छैनन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ मा घोषणा गरेको निर्वाचनबारे पनि दुई नेताले  फरक फरक अभिब्यक्ति दिँदै आएका छन् । जेनजी आन्दोलनपछि एमाले सबैभन्दा बढी आलोचित छ । त्यसैले फागुनमै चुनाव हुनुपर्ने दाउमा प्रचण्ड रहेका छन् । 

दोस्रो तहका नेताहरु कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै क्षति

विश्वभरका कम्युनिष्ट एक हौं भन्ने नारा केही कम्युनिष्ट चिन्तन भएकाहरुले पटक पटक उठाउने गरेका छन् । कम्युनिष्ट पार्टीका नेताहरुले माक्र्सवाद, लेनिनवाद र माओ विचारलाई अंगिकार गर्दै आएका छन् । विचार र सिद्धान्तमा फरक नभए पनि नेपालका कम्युनिष्ट पार्टीका सत्ता स्वार्थमा लिप्त हुदाँ सानो सानो झुण्ड विभाजित भइरहेका छन् । त्यसैले युवा पुस्तालाई समेत समेट्ने गरी दलहरु अघि बढ्नुको विकल्प छैन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update