काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ । यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो ।
खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञहरु भोजपुरको पौवादुङ आउने गरेका छन् ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका उप–प्रमुख चन्द्रकिशोर थारुसहितको समूहले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गरेको छ । पौवादुङमामा धेरै मात्रामा खुर्सानीको खेती भईरहेकोले आवश्यक जानकारी लिन विभिन्न ठाउँबाट मानिसहरु आउने गरेका छन् ।
अध्ययन समूहमा आएकाहरुले किसानको बगानमा पुगेर खेती प्रविधि, आम्दानी, तथा देखिएका चुनौतीका विषयमा जानकारी लिने गरेका छन् ।
यहाँका किसानहरुले गरिरहेको खुर्सानी खेतीको अध्ययन पश्चात खेती प्रविधिको विषयमा धेरै जानकारी मिलेको सिन्धुलीका अधिवक्ता रोेहित ढकालले बताए । पौवादुङमा गाउँपालिकाको सहयोगमा र किसानले गरिरहेको खुर्सानी खेती उदाहरणीय रहेको उनको भनाइ छ ।
अध्ययन अवलोकनका क्रममा सिकेको ज्ञानलाई दुधौली नगरपालिकाको कृषि क्षेत्रमा कार्यान्वयनमा ल्याउने जनाइएको छ । खेती विस्तारको लागि पौवादुङमाका किसानले आर्जन गरेको ज्ञान, सीप, अनुभव लिने लक्ष्यले यो क्षेत्रको अध्ययन गरिएको नगरपालिकाका अधिकृत सुवोध निरौलाले बताए ।
गाउँपालिकाले किसानलाई प्रोत्साहन गरेपछि पौवादुङका अधिकांश किसान व्यवसायिक खुर्सानी खेतीमा लगेका हुन् । पौवादुङमा करिव ४ सय हेक्टरमा खुर्सानीको खेती हुने गरेको गाउँपालिकाले जनाएको छ । गत वर्ष मात्र खुर्सानी बिक्रीबाट १८ करोड रुपैयाँ बराबरको आम्दानी भएको थियो ।

