News 24 Television
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु

धनुषा । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ । 

जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका मुख्य बजारहरुमा छठको तयारीका लागि किनमेलको निकै चहलपहल बढेको छ । छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको टोकरी, नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग किन्न भ्याई नभ्याई छ । 

पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्रीसमेत खरिद गरिन्छ । छठपर्व मनाउनका लागि विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । 

घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ । जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर, अंगराजसर सागर, अग्निकुण्ड लगायत तलाउजस्ता विभिन्न स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदैँछ । स्थानीय युवा क्लब र समितिहरु जनकपुरधामका विभिन्न तलाउ, पोखरी तथा सरोबरलाई सिंगार्नमा व्यस्त छन् । छठ पूजाका लागि जनकपुरधामका व्रतालुहरू सूर्यास्तलाई अघ्र्य दिइ राति पूजा स्थलमै बस्ने गर्छन् भने त्यसको भोलिपल्ट बिहानै घाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउने गर्छन् ।

छठ पर्व मनाउँदा चर्मरोग निको हुने, सन्तान लाभ हुने, आर्थिक समृद्धि, सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ । यो वर्षको छठ शुक्रबारबाट पर्व सुरु भएको छ । छठको पहिलो दिन शुक्रवार नहाय खाय, शनिबार खरना, आइतवार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने सोमबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । 

अघ्र्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई निराहार उपवास बस्ने गर्छन् । छठ पर्वमा सूर्य भगवानलाई अघ्र्य दिनका लागि तयार गरिने विभिन्न परिकारहरु नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व पनि भनिन्छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update