News 24 Television
बल्ल–बल्ल उठ्दैछ कास्की प्रशासन, जेनजीको प्रभाव हेर्न अझै पुगे सरकार !

कास्की । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रमणले ध्वस्त बनेको जिल्ला प्रशासन कार्यालय कास्की लयमा फर्किन सक्ने अवस्थामा थिएन, तर ध्वस्त संरचनाको खरानी पखाल्दै भएपनि केहि समयको अन्तरालपछि सेवाग्राहीहरूले कार्यालयबाट सेवा लिन थालेका छन् । 

कतै आगजनीले ध्वस्त परेका संरचनाहरू, कतै मर्मत कार्य भइरहेका दृष्य, त कतै श्रमिकहरू रंगरोगनमा व्यस्त दृष्य । यी दृष्य जिल्ला प्रशासन कार्यालय कास्की परिसरका हुन् । भौतिक संरचनाको यस्तो अस्तव्यस्त अवस्थाका बीच पनि यहाँ सेवाग्राहीहरूको बाक्लो भीड छ । 

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा ध्वस्त भएपछिको अहिलेको अवस्था हो यो । तर, केहीसमयको अन्तरालसँगै खण्डहर पन्छाएर, खरानी पखालेर आफ्नो लयमा फर्किँदै  छ, जिल्ला प्रशासन कार्यालय कास्की । 

आन्दोलनको हप्ता दिनपछि अत्यावश्यक सेवाहरू साविकको लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट सुरु गरिए पनि लामो समय प्रशासनको मुख्य कार्यालयबाट सेवाग्राहीहरूको काम हुन सकेको थिएन । तर, अहिले भने जिल्ला प्रशासनको मुख्य कार्यालयबाटै राष्ट्रिय परिचयपत्र, पासपोर्ट तथा नागरिकता वितरणको कामलगायतका प्रत्यक्ष नागरिकसँग जोडिएका कार्यहरू हुन थालेका छन् । 

कार्यालयको मुख्य भवन अझै पनि मर्मतसम्भार हुन सकेको छैन तथापि परिसर भित्रका विभिन्न छाप्राहरूबाट सेवाग्राहीका काम सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सक्रियताले यस्तो अवस्थामा पनि सेवाग्राहीको काम सुचारु भएको भन्दै सेवाग्राहीहरू हर्षित छन् । 

अहिले सुरुवाती चरणमा कास्की जिल्लाका नागरिकहरूको मात्र राष्ट्रिय परिचयपत्रको काम भइरहेको छ । आगामी दिनमा अन्य जिल्लाका नागरिकहरूको पनि राष्ट्रिय परिचयपत्रको काम सुरु हुने प्रशासनले जनाएको छ । 

प्रत्यक्ष नागरिकसँग सरोकार राख्ने कामहरू सञ्चालन भएपनि संस्था दर्ता,  संस्था नवीकरणलगायतका कामहरु सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने प्रशासनले बताएको छ । आगजनीका कारण कार्यालयमा रहेका सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएका कारण विभिन्न सरकारी कागजातका प्रतिलिपि बनाउन आउनेहरूको कार्यमा केही कठिनाइ भएको र त्यसलाई पनि डाटा सेन्टरबाट खोजेर केही दिनमा सहज बनाइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाई छ ।

जेनजी आन्दोलनपछि ध्वस्त संरचनाका कारण चौर र चौतारामा सीमित रहेका कास्कीका सरकारी कार्यालयहरू बिस्तारै बिस्तारै ध्वस्त संरचना बनाउँदै र खरानी पखाल्दै लयमा फर्किँदै छन् । प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यालयहरुका अभिलेख ध्वस्त भएका कारण अहिले केही समस्या देखिए पनि डाटा सुरक्षित भएका हुनाले छिट्टै पुरानै अवस्थामा फर्किने बताइएको छ । 

जेनजी आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौँपछि सबैभन्दा बढी क्षति भएको जिल्ला हो कास्की, तर प्रधानमन्त्रीमात्रै होइन, संघीय मन्त्रीहरूसम्म यहाँको निरीक्षण गर्न र अवस्था बुझ्न अहिलेसम्म पुगेका छैनन् । सरकारको यो वेमतलवीपन र गैरजिम्मेवारपनका कारण कास्कीका जनताले संघीय सरकारको अनुभूतिसम्म गर्न सकेका छैनन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update