काठमाडौं । पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । विभिन्न ८ देशका ६० भन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिता कात्तिक २७ देखि २९ गतेसम्म पोखरा–१३ आर्वा–बिजयडाँडामा हुनेछ । यसले खेल क्षेत्रमात्र नभई नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
पोखरामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्वा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा ८ बढी देशका ६० भन्दा बढि खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा एलिटतर्फ जुनियर, मास्टर्स ‘क’, मास्टर्स ‘ख’, ओपन फन गरि ६ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइकप्रेमी आकर्षित भई खेलमा मात्र नभई नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास खेलप्रेमीको रहेको छ ।
सन् २०२० देखि तयारी गर्दै पोखरा १३ आर्वाको क्षेत्रमा नियमित प्रतियोगिता सञ्चालनको लागि डन टील डस्कले संरचना बनाइरहेको छ ।
यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । जेन्जी आन्दोलन पछिको विषम परिस्थितिले अन्तर्राष्ट्रिय स्तरमा उत्पन्न भएको नकारात्मक सन्देशलाई चिर्दै नेपाल सुरक्षित छ भन्ने सन्देश दिन पनि प्रतियोगिता आयोजना भएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीको भनाइ छ ।
इन्डुरो माउन्टेन बाइक प्रतियोगिताले पोखराको पहाडी भू–भागमा साहसिक खेलको आकर्षण थप्ने मात्र होइन, अन्तर्राष्ट्रिय खेलकुदमार्फत नेपाल सुरक्षित र सम्भावनायुक्त गन्तव्य हो भन्ने सन्देश पनि दिने आयोजकको अपेक्षा छ ।
आगामी वर्षहरूमा यो प्रतियोगितालाई विश्वस्तरीय बनाउन निरन्तर प्रयास जारी राख्ने आयोजकको तयारी छ ।
