News 24 Television
२ लाख बढी सिटी रिक्सा सञ्चालित, १० लाख परिवार आश्रित

भैरहवा । विद्युतीय इ–रिक्सा चल्ने तराईका जिल्लाहरुमा दुई संस्थाले गरेको सर्वेक्षणमा ८० प्रतिशत चालकहरुसँग चालक अनुमती पत्र (लाइसेन्स) नभएको पाइएको छ । विद्युतीय सिटी रिक्सा संचालन हुने शहरहरुमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले लाइसेन्स नभएकै कारण सयौं चालकहरु जेल जानुपर्ने अवस्था आएको समेत जनाएको छ । 

तराईका जिल्लाहरुमा विद्युतीय रिक्साको संख्या दैनिक बढ्दो छ । तर, रिक्साको संख्या बढ्दै जाँदा चालकहरु भने अधिकांश लाइसेन्स बिहीन छन् । एक सर्वेक्षणले मुलुकका तराईका जिल्लाहरुमा संचालित अधिकांश रिक्सा चालकसँग लाइसेन्स नै नभएको तथ्य बाहिर ल्याएको छ । विभिन्न जिल्लाका ९६३ जना इ–रिक्सा चालकहरुमा गरिएको सर्वेक्षणले लाइसेन्सविनै सहरमा इ–रिक्सा सञ्चालन गर्नेको संख्या ८० प्रतिशत छ । 

विकल्प एन्ड अल्टरनेटिभ र उन्नत नीति इन्ष्टिच्युटले गरेको सर्वेक्षणका क्रममा अधिकांश सिटी रिक्सा चालकले लाइसेन्स विनै चालकको काम गर्दै आएका हुन् । जसले गर्दा दुर्घटना लगायतका घटनामा चालकहरु समस्यामा पर्ने गरेको अध्ययन टोलीको निष्कर्ष छ । 

सिटी रिक्सा ठुलो र जटिल सवारीसाधन नभएकाले लिखित परीक्षाको व्यवस्था हटाई प्रशिक्षण र ट्रायल परीक्षा मार्फत् अनिवार्य लाइसेन्स दिने व्यवस्था गर्न सके यो समस्या समाधान हुने सर्वेक्षणको निचोड छ । सिटी रिक्साको बढ्दो संख्यासँगै दर्ता, लाइसेन्स, इन्स्योरेन्स र ट्राफिक व्यवस्थापन लगायतका विषयमा समस्याहरु देखिँदै आएको छ ।

अधिकांश सिटी रिक्सा चालकहरु निरक्षर हुँदा ट्रायल पास गरे पनि लिखित परीक्षा पास गर्न नसक्ने गरेको पाइएको छ । यही कारण उनीहरु लाइसेन्स लिनबाट वञ्चित भइरहेका छन् । अब सबैं सिटी रिक्सा चालकलाई लाइसेन्स दिन लिखित परीक्षाको ठाउँमा प्रशिक्षण जरुरी गर्नुपर्ने सर्वेक्षण टोलीले जनाएको छ । मुलुकका सात प्रदेशमध्ये कोशी प्रदेशले यस्तो व्यवस्था सुरु गरिसकेको छ । अन्य प्रदेशले समेत यो व्यवस्था लागू गर्नुपर्ने सर्वेक्षणकर्मीको भनाई छ । 

सर्वेक्षण अनुसार रुपन्देहीको भैरहवामा मात्रै ६२ प्रतिशत रिक्सा चालकहरुसँग सवारी चालक अनुमति छैन । यस्तै, कोशी प्रदेशमा झन्डै ७८ प्रतिशत चालकहरुसित लाइसेन्स छैन । मधेश प्रदेशमा ८१ प्रतिशत र लुम्बिनीको नेपालगन्जमा मात्रै ९६ प्रतिशत भन्दा बढी चालकहरुसित लाइसेन्स नरहेको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणका क्रममा पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका धेरैले सिटी रिक्सा संचालन गर्दै आएका छन् । मुलुकभर सिटी रिक्सा २ लाख बढी संचालित छन् भने यसमा १० लाख परिवार आश्रित रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update