News 24 Television
इन्जिनियरको लाइसेन्स परीक्षा पोखरामै सञ्चालन

कास्की । नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पोखरामा इन्जिनियर व्यवसायी दर्ताको अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेसँगै पोखरा र आसपासका जिल्लाका इन्जिनियरहरू उत्साहित बनेका छन् । काठमाडौंमै परीक्षा दिन जानुपर्ने बाध्यता रहेकोमा अब क्षेत्रीय स्तरमै परीक्षा सञ्चालन भएपछि इन्जिनियरहरूलाई राहत मिलेको छ । 

नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पोखरामा इन्जिनियर व्यवसायी दर्ताको अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेसँगै विशेषगरी पश्चिमेली इन्जिनियरहरु हर्षित भएका छन् । 

पोखरामा परीक्षा सञ्चालनले समय, खर्च र झन्झट कम भएको छ । जसले गर्दा कास्की आसपासका जिल्लासंगै नेपालका पश्चिम भेगका ईन्जिनियरलाई धेरै सहज बनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रका इन्जिनियरहरूले यस कदमलाई इन्जिनियरिङ पेशाको सशक्तीकरणतर्फको सकारात्मक पहलका रूपमा लिएका छन् । 

पोखरामै परीक्षा सञ्चालन हुनुले स्थानीय इन्जिनियर समुदायमा पेशागत आत्मविश्वास र सहुलियत बढाएको उनीहरूको भनाइ छ । सङ्घीयताको मर्मअनुसार परीक्षालाई राजधानी बाहिर विकेन्द्रित गरेकाले परिषद्को सकारात्मक कदमको प्रशंसा भएको छ ।

पश्चिमाञ्चल क्याम्पसमा परीक्षाका लागि हालसम्म १ हजार बढी इन्जिनियर विद्यार्थीले आवेदन दिईसकेका छन् । नेपालमा मात्र होइन, विदेशका विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीले पनि यो परीक्षा दिन सक्छन् । 

काउन्सिलले तीन महिनाको अन्तरमा वर्षमा चारपटक कम्प्युटरमा आधारित भएर परीक्षा सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई सहज होस् भनेर काठमाडौं उपत्यका बाहिरबाट सुरुआत भएसँगै अन्य प्रदेशमा जान समेत बाटो खुलेको छ ।

इन्जिनियरका रूपमा काम गर्न इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्दछ । परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले इन्जिनियरका रूपमा काम गर्न नपाउने व्यवस्था ऐनमा गरिएकोले काउन्सिलको परीक्षा दिनैपर्ने बाध्यता छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update