News 24 Television
मधेशमा एकपछि अर्को समस्या, दुई दिनमै भूमरीको भ्वाङ्ग !

धनुषा । मधेश प्रदेश अहिले राजनीतिक रुपमा फेरि पनि तातिएको छ । रातारात मुख्यमन्त्री नियुक्ति प्रकरणले सोमबारदेखि तात्तिएको मधेश प्रदेश मंगलबार थप गरम बन्यो । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको राजीनामा मागमा नाराबाजी र सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सात दलीय गठबन्धनले रिट नै दायर गरिएको अवस्था छ । 

समग्रमा पछिल्ला दुई दिनमा मधेशमा कसरी कस्ता राजनीतिक घटनाक्रम विकास भए त ?

मधेश प्रदेश पछिल्ला केही दिन यता राजनीतिक चलखेलको गर्मिले तात्तिरहेको छ । प्रदेश सरकार हत्याउनका लागि गरिएको शक्ति संघर्षले माहोल यसरी गरम बनेको हो । 

राजनीतिक दाउपेचको खेल चलिरहँदा मंगलबार मधेश प्रदेश भवन अगाडि नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा नेपाल, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । 

उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । 

संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने अवस्था हुँदा पनि एमालेका लागि धारा १६८ (३) अनुकूल बनाउने काम गरेको भन्दै दलहरूले सभामुखको राजीनामा मागेका हुन् । मधेशमा एमालेको सभामुखसहित २५ सदस्य छ । एक सदस्य निलम्बनमा छन् । 

ठूलो दलको हैसियतले धारा १६८ को उपधारा ३ अनुसार मधेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सोमबार बिहान मुख्यमन्त्री बनाइएपछि ७ दलको प्रदर्शन सोमबारदेखि नै जारी छ । त्यस्तै मुख्यमन्त्री नियुक्ति संविधानसम्मत नभएको भन्दै सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार नै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । 

रिटको मुल जिकिर : चलखेलमा मुख्यमन्त्री नियुक्ति

-    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्धारा आइतबार संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको कार्य गैरकानूनी र दलहरूलाई छलेर नियुक्ति दिएको जिकिर

-    सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएको 

-   घटनाक्रम गैरकानूनी भन्दै कांग्रेससहितका दलहरू आक्रोशित 

महोत्तरीको बर्दिवासस्थित एक होटेलमा मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ खुवाएकी थिइन् संविधान विपरीत कार्य गरेको भन्दै उनलाई संघीय सरकारले पदमुक्त गरिसकेको छ । त्यस्तै नवनियुक्त सरोजकुमार यादवले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो नियुक्तिविरुद्ध अदालतले फैसला गरे सत्ता हस्तान्तरण गर्नका लागि तयार रहेको बताएका छन् ।

असहज परिस्थितिका बाबजुद  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार नै पदभार समेत ग्रहण गरेका छन् । 

यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरेका थिए  । 

राप्रपा सांसदको छुट्टै ताल

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकी कञ्चन विच्छा पनि सहभागी भइनन् । यता, नवनियुक्तमन्त्री बिच्छालाई पार्टी केन्द्रीय समितिले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । 

मधेश प्रदेशमा रातारात एमाले नेतृत्वमा सरकार गठन भएपछि अहिले राजनीतिक धु्रवीकरण तीव्ररुपमा भएको छ, भने मधेशको यो अशान्त अवस्थाको फाइदा उठाउने तत्वहरु सलबलाउन थालेको विश्लेषण भइरहेका छन् । 

विशेषगरि विखण्डनकारी मुद्दाको पृष्ठभूमि भएका जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशलाई विखण्डनतर्फ लैजानुपर्ने अभिव्यक्ति दिइरहेका छन् । 

प्रदेश संरचनाबारे अझैपनि दाउपेच चलिरहेका समय सरोकारवाला सबैले संयमित भएर स्वार्थभन्दामाथि उठ्नु आवश्यक देखिन्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update