News 24 Television
प्रहरी प्रशासन अझै जोखिममा ! सरकार बेमतलबी

कास्की । जेन–जी आन्दोलन र विध्वंसले अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १ हजार जनाले राजीनामा दिइसकेका छन् । उता, लुटिएका सयांै हात हतियार अझै गायव छन् । जसका कारण सुरक्षाकर्मीको मनोबल अझै उठ्न सकेको छैन । यसका लागि जनताको साथ आवश्यक रहेको सुरक्षा अधिकारीको धारणा छ । 

गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा देशका अधिकांश संरचना ध्वस्त भए ।  त्यस घटनापछि अब कसरी काम सुरु गर्ने भन्ने अन्योल अझै पनि कायम छ । देशको सम्पुर्ण शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरी पनि त्यस अन्यौलबाट अझै ग्रस्त छ । 

कार्यालयबाटै हुने काम केही हदसम्म सुरु भएपनि जनताले शान्तिसुरक्षाको अनुभुति गर्ने गरी पर्याप्त कार्य पुरानै अवस्थामा फर्कियको छैन । 

त्यही अन्यौल छ, देशको पर्यटकिय राजधानी पोखराको अवस्था पनि । कास्कीमा नेपाल प्रहरीका जिल्ला कार्यालय, ट्राफिक कार्यालय र केही वडा प्रहरी कार्यालय पुर्ण रुपमा ध्वस्त बनाईयको थियो । कास्की प्रहरीले अहिलेसम्म जनजीका नाममा विध्वम्स मच्चाउने ३० जनालाई मुद्दा दायर गरिसकेको छ । 

जसमा हात हतियार खरखजानामा एकजना, चोरीमा तीनजना, अपराधिक उपद्रोहमा १८ जना र उत्सृङ्खल क्रियाकलापमा आठ जनालाई मुद्दा चलाएको हो । तर अझै पनि चोरिएका हात हतियारहरू पूर्णरूपमा नियन्त्रणमा लिन नसकेको कास्की प्रहरी बताउँछ । 

जेनजी आन्दोलनभन्दा पहिला नियमित भइराखेको सुरक्षा गस्ती, सुरक्षा चेकजाँच, ट्राफिक चेक जाँच लगायतका कार्यहरू अझै नियमित रूपमा हुन सकेका छैनन् । 

सुरक्षा बलको मनोबल गिरेका कारण यी नियमित कार्य हुन नसकेको गुनासो आएपनि कास्की प्रहरीका प्रवक्ताले भने मनोबल भन्दा पनि जेन्जी आन्दोलनका क्रममा चेकजाँचका लागि चाहिने उपकरण, सवारी साधन र अन्य पूर्वाधारहरू जलेर नष्ट भएको तथा नयाँ नआइसकेका कारण केही कठिनाइ भएको स्वीकार गर्छन् । 

कास्की प्रहरीका प्रवक्ता बस्नेतले सुरक्षा बलको मनोबल नगिरेको भनेपनि देशव्यापी रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मीले राजीनामा दिइसकेको तथ्याङ्कले बताउँछ । जेन्जी आन्दोलनले र त्यसपछिको विध्वंसले सुरक्षाकर्मीहरूको मनोबल पक्कै गिराएको छ । 

त्यसो त यो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा पनि सुरक्षाकर्मीको मनोबल घटेको कुरा स्वीकार गर्छिन् । यो विषम परिस्थितिमा सुरक्षाकर्मीले जनतालाई र जनताले सुरक्षाकर्मीलाई साथ दिएर हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उनको धारणा छ । 

जेन्जीको म्यान्डेट भन्दै बनेको सुशीला कार्की नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा र अमन चयन ल्याउँछु भनिरहेको भएपनि अहिलेसम्म सुरक्षाकर्मीहरूका लागि आवश्यक पूर्वाधार, उपकरण र हात हतियारहरू उपलब्ध नगराएकै कारण सुरक्षाकर्मीहरू फिल्डमा उत्रन सकिरहेका छैनन् । 

जसका कारण सुरक्षाकर्मीहरूको मनोबल त गिरेको छ नै सँगसँगै आम जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । यसतर्फ बेलैमा ध्यान नदिने हो भने त्यसपछि निम्तने घटना झन् भयावह हुन सक्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update