News 24 Television
जेनजी आन्दोलनपछि पनि उस्तै, मतियार बन्दै मधेस

धनुषा । जितेन्द्र सोनलले मुख्यमन्त्रीमा विश्वासको मत लिनु अगावै राजीनामा दिनु परेपछि मधेस प्रदेशको सत्ता राजनीतिक विथोलिएको छ । सोनलको राजीनामापछि ठूलो दलको हैसियतमा भन्दै एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमाले बाहेकका दलहरु आन्दोलनमा छन् । 

मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट नै दायर भएको छ । त्यसको बहस आइतबार हँुँदैछ । यता, सात दलीय गठबन्धनले मधेश प्रदेश सरकारको प्रशासनिक कार्यालय ‘मधेश भवन’ अगाडि धर्ना कसिरहेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति बदरको माग गर्दै मधेश प्रदेशका ७४ सांसदहरूले सर्वोच्च अदालतमा दायर रिटको फैसला आउन बाँकी नै छ । 

यो रिटमा आइतबार बहस हुने भएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको छ । सोही बहसपछि सर्वोच्चले यादवको नियुक्ति बैध छ कि छैन भन्ने प्रारम्भिक दृष्टिकोण दिनेछ । 

यसअघि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पनि ‘सुविधा सन्तुलन’का दृष्टिले मुख्यमन्त्री र मन्त्रिपरिषद् दीर्घकालीन असर पर्ने निर्णय नगर्न निर्देशन दिएको थियो । जसका कारण यादव कामचलाउ मुख्यमन्त्रीका रुपमा रहेका छन् । 

सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सोही विवादका कारण केन्द्र सरकारले भण्डारीलाई पदमुक्त गरि सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइसकेको छ । 

मधेस कचिंगलमा कांग्रेससमेत एमालेको कित्ता बाहिर   

असंवैधानिक रुपमा सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमाले बाहेकका विभिन्न ७ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु ३ दिनदेखि धर्नामा छन् । उनीहरुले कार्कीको नियुक्तिलाई राजनीतिक बेइमानी भनेका छन् । 

आफूहरुसँग सल्लाह नै नगरी यादवलाई मुख्यमन्त्री नियुक्ति गरेकै कारण कांग्रेस समेत विपक्षीको कित्तामा पुगेको छ । पदमुक्त भइसकेकी प्रदेशप्रमुख भण्डारीबाट नियुक्त भएका यादवलाई बर्खास्त गर्नुपर्ने भन्दै ७ दल एक ठाउँमा उभिएर आन्दोलित भएका हुन् । 

अदालतको फैसलाको प्रतिक्षामा रहेका उनीहरुले यादवलाई पदभार ग्रहण गर्न समेत नदिने भन्दै आन्दोलन गरेका थिए । विरोधकैबीच यादवले मंगलबार पदभार ग्रहण गरे पनि कामकाज गर्न नदिन एमाले बाहेकका प्रदेश सांसदहरु धर्ना कसिरहेका छन् । अदालतको आदेश नआउँदा सम्म आन्दोलन जारी राख्ने आन्दोलनरत सांसद तथा नेताहरु बताउँछन् । 

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले प्रदेशसभामै अनौठो ढंगले प्रदेश सांसदहरुको कार्यशैलीको विरोध गर्दै मुख्यमन्त्रीलाई दिने विश्वासको मत प्रक्रियामा सहभागी नभइ बहिष्कार गर्ने बताएपछि उनलाई माओवादीकै अर्की सांसद मालाकुमारी कर्णले पनि बहिष्कार गरेकी थिइन् ।

त्यसपछि मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले सदनबाटै राजीनामा दिएको घोषणा गरेका थिए । सो विषयले अहिले माओवादी भित्र  सांसदद्वय अन्सारी र कर्णलाई कारबाही हुनुपर्ने भन्दै आवाज उठेको छ । 

मंगलवार मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेश भवन बाहिर सात राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । 

सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जना बढी घाइते भए । मधेसमा आन्दोलन चर्किरहँदा नवनियुक्त मुख्यमन्त्री यादव बुधवार बिहानै काठमाडौं प्रस्थान गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update