कास्की । सहकारीको रकम दुरुपयोगमा कास्की जिल्लाका सहकारीहरू पनि अग्रस्थानमा देखिन्छन् । हरेक सहकारी सञ्चालकहरूकै कारण डुबेको भाष्य निर्माण भइरहेको छ । तर, कास्की प्रहरीको पछिल्लो अभियानले सहकारी डुब्नमा सञ्चालकहरू मात्र नभई ऋणिहरू पनि उत्तिकै जिम्मेवार भएको देखाएको छ । तर, अब यसको समाधानका लागि प्रहरीले नयाँ अभियान थालेको छ । के हो कास्की प्रहरीको अभियान र कसरी बनिरहेको छ यो अभियान सहकारीको पैसा नतिर्नेहरुको टाउको दुखाईको विषय ?
केही दिन अघि जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा बचत तथा ऋण सहकारीमा आर्थिक हिनामिना भएको भन्दै सहकारी डिभिजन कार्यालयको प्रतिवेदनका आधारमा ८ जना सञ्चालक तथा पूर्व सञ्चालकहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो ।
उनीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्टै प्रहरीले एउटा विज्ञप्ति जारी गर्छ । यसभन्दा अगाडिका सहकारी केसमा बचतकर्ताहरूलाई जाहेरी दिनका लागि अपिल गरिन्थ्यो, तर अहिले कास्की प्रहरीले सहकारी डुब्नुमा सञ्चालकका साथसाथै सहकारीबाट ऋण लिएर नतिर्नेहरू पनि उत्तिकै दोषी भएको भन्दै मङ्सिर २ गतेभित्र ऋण तिर्न सूचना जारी गर्यो । सहकारीलाई जोगाउन प्रहरीले थालेको यो अभियानबाट ऋण लिएर नतिर्नेहरूको सातो गएको छ ।
सामान्यतया सञ्चालकहरू अनुसन्धानको दायरामा प्रहरी हिरासतमा पुगेपछि धेरै जसो सहकारी बन्द भएका थिए । तर अहिले पोखरा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भने खुलै छ । प्रहरीको सूचनाका आधारमा पोखरा बचतका ऋणीहरू धमाधम सम्पर्कमा आउन थालेका छन् ।
कतिपयले नगदै जम्मा गरेर ऋण तिरेको तथा कतिपय बचतकर्तासँग समन्वय गरेर मेलमिलापमा आएको पोखरा बचत तथा ऋण सहकारीका कर्जा शाखा प्रमुख सुरज सुवेदी बताउँछन् ।
पोखरा बचत तथा ऋण सहकारी संस्थामा मात्रै ऋणीहरूले लगेको ७१ करोड रकम उठ्न बाँकी रहेको तथा बचतकर्ताको ३७ करोड ४६ लाख रकम दिन बाँकी रहेको सहकारीको दाबी छ । प्रहरीको सक्रियतापछि बुधबार मात्रै झन्डै ५० लाख ऋण घटेको सुवेदीको दाबी छ ।
सञ्चालकहरू थुनिए पनि ऋण उठाउने काम र बचतकर्ताको रकम धेरथोर फिर्ता भइरहेको छ । आफूहरूले लगेको ऋण मङ्सिर २ गतेभित्र नतिरे ऋणीहरूलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गर्ने कास्की प्रहरीले जनाएको छ । ऋण लगेर नतिर्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने भएपछि कास्कीका सहकारीमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
पोखरा रोयल बचत तथा ऋण सहकारीका सिइओ भीम गुरुङ भन्छन् कास्की प्रहरीको अभियानले सहकारी सञ्चालनमा सहजता प्रदान गरेको छ, यो अभियानमा हाम्रो पनि सात प्रहरीलाई रहन्छ ।
बैंकिङ प्रणालीमा बचतकर्ता र ऋणीबीच विशेष सम्बन्ध हुन्छ । बचतकर्ताले बचत नगरे ऋणले ऋण पाउँदैन भने ऋणले नतिर्दासम्म बचतकर्ताको रकम समेत सुरक्षित हुँदैन । त्यसैले सहकारीमा समस्या आउनुमा ऋणीहरूको पनि उत्तिकै भूमिका रहन्छ ।
कास्की प्रहरीले मङ्सिर २ गतेसम्म पोखरा बचत तथा ऋण सहकारीका ऋणहरूले सम्पर्कमा आई आफूले लगेको रकम भुक्तान गर्नुपर्ने नत्र उनीहरूलाई पनि प्रतिवादी बनाउने भन्दै ऋण तिर्न अपिल गरेको छ ।
कास्की जिल्लामा मात्रै एक दर्जनभन्दा बढी सहकारीमा समस्या देखिएको र कतिपय सहकारीका सञ्चालक तथा पूर्व सञ्चालकहरू पूर्पक्षको लागि अझै कारागारमा छन् ।
यसभन्दा अघि प्रहरीले ऋणीहरूलाई त्यति सम्बोधन गरेको देखिन्थेन तर यो पटक ऋणीहरूका लागि पनि प्रहरी कठोर बन्दा सम्पर्कमा नआएका ऋणीहरू पनि धमाधम सम्पर्कमा आउन थालेका छन् । यसले सहकारीलाई थप बलियो र मजबुत बनाउने आधार बढेको जानकारहरूको बुझाइ छ ।
