News 24 Television
पर्यटक नगरीमै लथालिङ्ग, पार्किङको लफडा, महानगर भर्सेस व्यापारी !

कास्की । पोखरामा अव्यवस्थित सडक पार्किङले नगर कुरुप मात्र बनेको छैन, यातायात आवागमनमा समस्या पर्नुको साथै दुर्घटना समेत बढाएको छ । सडकलाई पार्किङमुक्त बनाउने महानगरको योजना सडक किनारका व्यापारीका कारण दोहोरो पार्किङ बढ्दै गएको छ । व्यवसायीले महानगरको योजनालाई सहयोग गर्नुको साटो दाहोरो पार्किङ गर्न पाउनुपर्ने माग राख्दै महानगरको ध्यानाकर्षण गराएका छन् ।

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या   हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको बैठकले २०७९ सालमा सडक पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । 

महानगरको उक्त निर्णविरुद्ध पोखरा उद्योगवाणिज्य संघको नेतृत्वमा व्यवसायी विरोधमा उत्रेपछि महानगर आफ्नो निर्णयमा एक  हप्ता पनि टिक्न सकेन । 

मुख्य मुख्य बजार क्षेत्रमा सडक पार्किङ हटाउने निर्णयबाट महानगर पछाडी हटे पछि व्यवसयीले अहिले दोहोरो पार्किङ खुल्ला गर्न माग गदैँ दोहोरो पार्किङ खुल्ला गर्न महानगरलाई दवाव दिइरहेका छन् । पोखराको मुख्य व्यापारिक केन्द्र न्युरोडका व्यवसायीले पार्किङको सुविधा नहुदाँ व्यवसायमा नै गम्भिर असर परेको भन्दै सडकमा पार्किङ खोल्न माग गदै जिल्ला प्रसासन कार्यालय, कास्की, पोखरा महानगरपालिका र वडाकार्यालयहरुमा ज्ञापन पत्र नै बुझाएका छन् ।

पोखरामा सवारीको अत्यधिक चाप हुने पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोको सडक छेउमा एकतर्फ पार्किङ गरिदै आएकोमा व्यवसायीले दोहोरो पार्किङको माग गरेका हुन् । महानगरले अहिले सडकको एक तर्फी पार्किङलाई अनुमती दिएको छ । तर, ट्राफिक व्यवस्थापन चुस्त नहुदाँ सडकमा दोहोरो पार्किङ मात्र हैन फुटपाथ नै मिचेर गरिने पार्किङले पैदल यात्रीले समेत सहज रुपमा यात्रा गर्न नपाउने अवस्था रहेको छ । 

महानगर क्षेत्रमा बनेका भवनका बेसमेन्टलाई पार्किङका लागि उपयोग गर्ने योजना बनाएर भूमिगत तला गर्ने अभियान अन्तरगत डोजर नै चलाएको थियो । उक्त अभियान पनि विचैमा अलपत्र पर्यो । मुख्यबजार क्षेत्रमा सवारी पार्किङका तोकिएका स–शुल्क र निशुल्क पार्किङ क्षेत्र अन्य प्रयोजनमा प्रयोग भइरहेका छन् । 

सडक पार्किङ हटाउन नसकेको महानगरले कार्यपालिकाले सडक पार्किङको ठेक्का खोल्ने गत बर्ष नै निर्णय गरिसकेको छ । तर, ठेक्का भने लगाएको छैन । 

पार्किङलाई व्यवस्थित गर्ने प्रयासमा छलफल भइरहेको महानगरको दावी छ । महानगरले सडकलाई पार्किङ मुक्त बनाउने योजना कार्यान्वयनको गर्नुको सट्टा सडक पार्किङलाई ठेक्कामा लैजाने प्रयास गर्नु र व्यवसायीले सडक मै पार्किङ गर्न पाउनुपर्ने मागले पर्यटकीय नगरी पोखराको यातायात प्रणाली नै अस्तव्यस्त बन्ने तर्फ उन्मुख देखिन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update