News 24 Television
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव

धनुषा । साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा मंगलबार स्वयम्बर सम्पन्न भएको छ । सीतारामको स्वयम्बर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै ओर्लिएको छ । विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् । 

प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव सप्ताहव्यापी रुपमा मनाउने चलन रहेको छ । विवाहको मुख्य दिन स्वयम्बरका लागि मिथिला दरबारको प्रतिनिधित्व जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो । जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव र राम मन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्त राम गिरीले गरेका छन् । 

दूबै मन्दिरका डोलासँग साधु सन्तहरुसंगै हजारौँ श्रद्धालु भक्तजनहरुको पनि सहभागिता  रहेको छ । स्वयम्बरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका छन् । 

पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गरेको थियो । स्वयम्बरपछि जनकपुरधामका अधिकांश मन्दिरका झाँकीहरूसहित जनकपुरधाममा शोभायात्रा निकालिएको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गरेको छ ।  

सीता–राम विवाह कार्यक्रम मंगलबार राति जानकी मन्दिरको प्रांगणमा सम्पन्न हुनेछ । जसका लागि जानकी मन्दिरमा मण्डप समेत बनाइएको छ । 

विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् । स्वयंवर तथा विवाह कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड छ । नेपाल र भारतको विभिन्न स्थानबाट साधुसन्तहरू समेत आएका छन् । 

भारतको अयोध्याबाट आएका साधु सन्तसहितका जन्तीहरुका लागि विश्रामसहितको व्यवस्था यसवर्ष पनि गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाडमा हुनसक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ । 

सीताराम विवाह महोत्सवमा मिथिला गानसहितका विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिएको छ । सो क्रममा कथावाचिका चञ्चलाले किशोरी(सीता)को विवाहमा दर्शन गर्न आइपुगेका भक्तजनको कल्याण नै कल्याण हुने गरेको बताउँछिन् ।

जानकी मन्दिरमा सहनाई गुञ्जयमान छ । जनकपुरधाम नै विवाहमय बनेको छ । संसारमै जनकपुरधाममा मात्र भगवान रामलाई सभ्य रुपमा गाली गर्दै मैथिलानीहरु विवाहोत्सव मनाइरहेका छन् । जनकपुरधाममा भगवान रामलाई गाली गर्दै मनोरञ्जन गराइने परम्परा पनि रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update