News 24 Television
सडकको चोकमै करोडको चलखेल ! ठेकेदारसँग सेटिङको भिडियो !

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा सडक निर्माणमा कमिशनको चलखेल चलेको आरोप बढ्न थालेको छ । मलंगवा नगरपालिकाको पूर्वप्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी र ठेकेदार बीचको कमिशनको चक्करमा अझै पनि सडक निर्माण अधुरै रहेको  स्थानीयको आरोप छ ।  
सर्लाहीको मलंगवा नगरपालिका स्थित मेनचौकदेखि सगरमाथा विद्यालयसम्मको सडक २ वर्षदेखि अलपत्र छ ।  करिब २ वर्ष अगाडि नै नाला सहितको कालोपत्रे सडक निर्माण सुरु गरिएपनि पटक–पटकको म्याद थप गर्दासमेत सडकको अवस्था ज्यु को त्युँ छ । 

सडकमा नाला निर्माण भएपनि पुर्णरुपमा ज्वाईन नभएको कारण उक्त नाला समेत संचालनमा आउन नसकेको स्थानीयको गुनासो छ । कमिशनको चलखेल भएका कारण सडकको यो अवस्था भएको आरोप स्थानीयको छ । 

करिब  १ करोड १३ लाख ७४ हजारमा बन्ने भनिएको सडकमा नगरपालिकाको पूर्वप्रशासकीय अधिकृत हाकिम होमनाथ सुवेदीले ठेकेदारसँग मिलेर चलखेल गरेको बताइएको छ । नाला बनाउने काममा मापडण्ड विपरित र कमसल सामाग्री प्रयोग भएका छन् । 

नाला बनाउने काममा भएको भ्रष्टाचारको आफुसंग भिडियो प्रमाण समेत रहेको दाबी स्थानीय लक्ष्मी चौधरीको छ । यस घटनालाई अब  अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पु¥याउने उनको भनाई छ ।   

सडक नबन्दा स्थानीयलाई आवतजावतमा समेत समस्या भईरहेको स्थानीय व्यापारी विश्वनाथ पाण्डे बताउछन् । बारम्बार काम सुरु गरेर स्थगित गर्नाले पनि ठेकेदार संगको कमिशनको मोलजोल नमिलेको कारण नै सडक निर्माणमा ढिलाई भएको स्थानीयको बुझाइ छ । 

नगरपालिकाले १ महिनाभित्र सडक निर्माण हुने भनेपछि आफुहरुले मापदण्डमा परेको घर भत्काएको स्थानीय बैजु गुप्ताले बताए । 

२ वर्ष बितिसक्दा पनि सडक बनेन् । त्यसमाथि बारम्बार काम स्थगित गर्दा आफुलाई ३–४ पटक घर भत्काउनु परेको गुप्ताको भनाइ छ । कार्यालयका हाकिम सुवेदी र ठेकेदार बिच ठुलो रकमको चलखेलका कारण सडक बनाउने काम अवरुद्ध भएको उनको आरोप छ ।  

यस सम्बन्धी मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम  प्रसाद घिमिरे संग बुझ्दा आफु आएको एक हप्तामात्र भएको कारण यस सम्बन्धी आफुलाई केहि जानकारी नभएको बताउछन् ।  

मलंगवा स्थित मेनचोक देखि सगरमाथा विद्यालयसम्म नाला स्लेभ सहित सडक कालोपत्रे गर्न रौतहत वृन्दावन–१ का अरुण एण्ड रुस्तम निर्माण सेवा संग सम्झौता भएको मलंगवा नगरपालिकाले जनाएको छ । 

पटक पटक म्याद थप्दै २०८२ साल यहि पुष मसान्तभित्र सक्ने गरि  करिब ३ सय २५ मिटर लम्बाई रहेको नाला सहितको कालो पत्रे सडक निर्माणको सम्झौता भएपनि समयसिमा भित्र निर्माण सम्पन्न हुने केहि छाटकाट देखिदैन । म्याद सक्न अबको डेढ महिना मात्र छ । नाला र स्लेब बनेको भएपनि पुर्णरुपमा ज्वाईन भएको छैन । 

सडकको काम सुरु समेत न भएको कारण समयसिमा भित्र निर्माण सम्पन्न हुने भन्ने स्थानीयले पत्याउने अवस्था छैन । करिब १ करोड १३ लाख ७४ हजार लागतमा निर्माणधिन सडक योजनामा सामान्य सूचनापाटी समेत नराखिएको हुदा सडक निर्माण कार्यमा ठुलो अनियमितता भएको स्थानीयको आशंका छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update