News 24 Television
स्वास्थ्यचौकीमै ज्यानको खतरा ! छत नै खस्ने डर, छैन औषधि !

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको वडा नं ६ सिसौट स्थित स्वास्थ्यचौकीको अवस्था दयनिय छ । स्वास्थ्यचौकीको जिर्ण भवनको कारण स्वास्थ्य सेवा अत्यन्तै प्रभावित बनेको  छ । त्यस्तै गाउँपालिकाको वडा नं ४ स्थित बहुर्ववा स्वास्थ्यचौकी समेत जिर्ण भवनमा सञ्चालनमा रहेको कारण स्वास्थ्य सेवा प्रभावित बनेको हो । 

चौकीमा आवश्यक पर्ने ९८ प्रकारको औषधिमध्ये २१ प्रकारको औषधिमात्र उपलब्ध रहेकाले विरामीहरुलाई प्रदान गरिने औषधि समेत उपलब्ध गराउन सकिएको छैन । 

दृष्यमा देखिएका यि भवनहरुको अवस्था हेर्दै दयनिय छ । यि दृष्य सर्लाहीको रामनगर गाउँपालिका–६ सिसौटस्थित स्वास्थ्यचौकी भवन र  वडा नं ४ स्थित बहुर्ववा स्वास्थ्यचौकीको भवनका हुन् । यही जीर्ण भवनमा  बिरामीकोे भिड, साघुरो ठाउँ र स्वास्थ्य उपकरण अभावका कारण स्वास्थ्य सेवा नै प्रभाावित भएको छ  । 

यी स्वास्थ्य संस्थामा  स्वास्थ्यचौकीहरुले वितरण गर्ने निशुल्क औषधीहरु जहिले पनि अभाव हुने गरेको छ । औषधी नभएको कारण आफुहरुलाई अन्यत्र पैसा तिरेर औषधी किन्नु पर्ने बाध्यता रहेको सेवाग्राही बताउछन् । गाउँपालिकाले नै औषधी नपठाएपछि हामी कहाँबाट औषधी दिने भन्दै स्वास्थ्यकर्मीहरुले सेवाग्राहीसँग अभद्र व्यवहार नै गर्ने गरेको गुनासो छ, सेवाग्राहीहरुको । 

यतिमात्रै होइन स्वास्थ्यचौकी अत्याधिक फोहोर भएका कारण चेकजाच गराउन पुगेका विरामी झन बिरामी हुदै रोग बोकेर आउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

भवन जिर्ण हुँदा छतबाट बालुवा तथा ढुंगा तल खस्ने गरेकोले जोखिमपुर्ण अवस्थामा बिरामी जाच गर्नुपरेको बहुअर्वा स्वास्थ्यचौकीका जनस्वास्थ्य निरिक्षक सतेन्द्र कुमार जैसवाल बताउँछन् । स्वास्थ्यचौकी जरजर अवस्थाबारे पटक पटक गाउपालिकालाई जानकारी गराएपनि कुनै वास्ता गरेको छैन, गाउँपालिकाले ।

त्यस्तै स्थानीय सरकारको लापरवाहीको कारण चौकीमाऔषधी समेत अपुग रहेको सिसौट स्वास्थ्यचौकी प्रमुख जगेशवर महतो बताउँछन् । स्वास्थ्यचौकीको आफनो भवन नभएका कारण प्रहरी चौकीको लागि बनाएको जिर्ण भवनमा स्वास्थ्य सेवा दिनुपरेको महतोको भनाई छ ।  बिरामी जाचको लागि समेत आवश्यक पुर्वाधार नभएको कारण बिरामीलाई औषधी मात्र दिएर पठाउनु पर्ने बाध्यता छ । 

२०५० साल यता गाउँपालिकामा कुनै विद्यालय वा स्वास्थ्यचौकीको नया भवन निर्माण भएको छैन  । अब भने स्वास्थ्यचौकी भवनको लागि करिब १ करोड ५० लाख रकम गाउँपालिकाले विनियोजन त गरेको छ । तर, योजना कार्यान्वयनमा जाने संकेत खासै छैन । तरपनि अब क्रमिकरुपमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताउँछन, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबावु यादव ।

रामनगर गाउँपालिकाका यी दुई वटा स्वास्थ्यचौकी त केही उदाहरण मात्रै हुन् । सर्लाहीमा रहेका अधिकांश स्वास्थ्यचौकीको अवस्था खराब छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update