News 24 Television
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर

झापा । रोहिंग्या शरणार्थीको अवैध प्रवेश बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै झापाको काँकरभिट्टा नाकासहित भारतसँग जोडिएका सीमानाकामा सुरक्षा निकायले निगरानी कडा बनाएका छन् । 

गृह मन्त्रालयबाट जिल्ला प्रशासन र सुरक्षा निकायलाई जारी भएको निर्देशनपछि नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले थप कडाइका साथ चेकजाँच अगाडि बढाएका हुन् ।  

भारतमा हाल सञ्चालनमा रहेको स्पेसल इन्टेन्सिभ रिभिजन (एसआइआर) कार्यक्रमका कारण अवैध रूपमा बसोबास गर्दै आएका रोहिंग्या समूहहरू नेपालतर्फ प्रवेश गर्न सक्ने अनुमान छ । 

बंगलादेश नजिक पर्ने तथा १४४ किलोमिटर खुला नाका भएको झापालाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ । सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले काँकरभिट्टा सहितका नाकामा आवत–जावत गर्ने सबै व्यक्तिको परिचयपत्र, अनिवार्य रूपमा जाँच गर्न थालेका छन् । नाकामा कडाइ हुँदा सामान्य आवतजावतमा केही असहजता भएपनि सुरक्षाका लागि गरिएको कडाइ आवश्यक रहेको स्थानीयको भनाइ छ ।  

नेपाल भारत खुल्ला सिमानाका कारण झापा भएर रोहिंग्या लगायत गैर नागरिक अवैध रूपमा नेपाल प्रवेश गर्न प्रयास गर्ने सम्भावना भएकाले त्यसलाई मध्यनजर गर्दै सिमानाका साथै गाउँ–गाउँका सम्भावित प्रवेश बिन्दुमा कडाइ गरिएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए ।

मुख्य नाकामा प्रत्येक यात्रुको परिचयपत्र जाँच्नुुका साथै  सहरी क्षेत्रमा पनि नयाँ अनुहार र शंकास्पद गतिविधि देखिने व्यक्तिमाथि छुट्टै अनुगमन गर्ने गरिएको छ ।  

विश्वशक्ति केन्द्रको रुपमा उदाउँदै गरेको छिमेकी देश भारतको राजनीतिक तथा प्रशासनिक गतिविधिले नेपालमा समेत असर पार्ने गर्दछ । यस्तो जोखिमको बेला प्रहरी प्रशासनसंगै सर्वसाधारण आम नागरिकको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update