News 24 Television
बल्ल कुरा मिल्यो, ५ महिनाकै तलब भत्ता आउने भयो

सर्लाही । ५ महिनादेखि तलब नपाएको भन्दै अनिश्चितकालिन धर्नामा बसेका सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । 

गाउँपालिका अध्यक्ष रामसिंहासन राय, उपाध्यक्ष सरिताकुमारी साह सहितको उपस्थितिमा शनिबार  बसेको बैठकमा सम्पूर्ण स्थायी, करार र ज्यालादारी कर्मचारीको तलब, भत्ता पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति भएपछि कर्मचारीहरुले आन्दोलन स्थगित गरेका हुन् । 

५ महिना देखि तलब नपाएको भन्दै अनिश्चितकालिन धर्नामा बसेका सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारी अन्ततः काममा फर्किएका छन् ।

आन्दोलित कर्मचारी र गाउपालिका पक्षको समन्वयमा सहमति भई माग पुरा हुने अवस्था आएपछि काम सुचारु भएको हो । पुष २५ गते भित्र कर्मचारीको बाँकी रहेको तलब भुक्तानी र आन्दोलन अवधिको हाजिर व्यवस्थापन गर्ने गरि सहमित जुटेको छ । 

पुस १६ गते गाउँसभा गर्ने समेत परिपत्र भइसकेको छ । सहमति पत्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेतको हस्ताक्षर र प्रतिबद्धता आएकोले तोकिएको समयभित्र नै बक्यौता तलब भुक्तानी हुनेमा कर्मचारीहरु विश्वस्त देखिएका छन् ।    

गाउँसभा गर्न अब ढिलाई नहुने भन्दै पालिका र कर्मचारीबीच सहमति भएको गाउँपालिका कि उपाध्यक्ष सरिता देवी साहले बताईन् ।    

गाउँसभाको उद्घाटन सत्र गएको असारमै भएपनि बन्दसत्र भने हुन सकेको थिएन । ५ महिनासम्म तलब भुक्तानी नपाएका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले कामकाज नै ठप्प पारेर आन्दोलन सुरु गरेपछि जनप्रतिनिधिहरु वार्तामा बस्ने र गाउँसभा गरेर बजेट पारित गर्ने वातावरण बनाउन बाध्य भएका हुन् ।

गएको भदौमा गाउँपालिका अध्यक्ष रायले गाउँसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रयास गरेका थिए । तर उपाध्यक्ष साहले उच्च अदालत जनकपुरमा निवेदन दिएपछि अदालतले उपाध्यक्षको सहमती बिना गाउँसभा नगर्न आदेश गरेको थियो । 

अहिले भने उपध्याक्ष साहलाई समेत सहमतिमा ल्याएर पुस १६ गतेका लागि गाउँसभाको बैठक बोलाइएको हो । गाउँपालिकाको बजेट पारित नहुँदा गत साउनदेखि तलब, भत्ता नपाएपछि कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले पुस २ गतेबाट गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update