News 24 Television
अति विपन्नको उद्दारक बन्दै बागमतीका मुख्यमन्त्री बानियाँ

मकवानपुर । गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले  पहिलो मन्त्रीपरिषद् बैठकमा आफ्नो सेवा सुविधा वापत्को रकम नागरिकको सेवामा खर्चने निर्णय गरेका थिए । 

आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न ३ परिवारलाई घर निर्माण गरिदिने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता थियो । सोही अनुरुप मुख्यमन्त्री बानियाँले दोस्रो घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका छन् ।

मकवानपुरको कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजाका दम्पत्ती काठले बनेको सानो छाप्रोमा जीविका चलाउँदै आएका थिए । 

निःसन्तान प्रजा दम्पत्ती मेलापात र ज्यालदारीबाटै दैनिक जीवन गुजार्दै आएका थिए । आफ्नो कमाइले घर बनाएर बस्न सकिएला भन्ने लालबहादुरलाई कहिल्यै लागेको थिएन । हिउँद लागेपछि घर नजिकै पाखाको खर काटेर घर छाउने उनीहरुलाई अब यो चिन्ता सधैँको लागि हटेको छ । 

गाउँमै रहेको आफ्नै १० धुर जग्गामा तीनकोठे पक्की घर बनेसँगै प्रजा दम्पत्तिको मुहारमा खुसी झल्किएको छ । घामपानी छिर्ने छाप्रोमा कठिन जीवन बिताउँदै आएका उनीहरूलाई अब न त हिउँदमा खर काटेर घर छाउने चिन्ता छ, न त राम्रो घरमा बस्न नपाइने पीडा नै बाँकी छ ।

प्रजा दम्पत्तिको यो घर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण गरिदिएका हुन् । गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचन क्षेत्रका तीनजनाको लागि घर निर्माण गरिदिने निर्णय गरेका थिए । 

सपथ ग्रहण पश्चात् पदभार ग्रहण गर्दै मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधा वापत्को रकमले अति विपन्न परिवारको लागि घर निर्माण गरिदिने निर्णय गरेका हुन् । 

उनको निर्वाचन क्षेत्र अन्र्तगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा एक÷एक वटा घर बनाउने निर्णय अनुरुप स्थानीय जनप्रतिनिधिहरुले अति विपन्न परिवारको नाम सिफारिस गरिदिए । सोही अनुरुप बानियाँले आज दोस्रो घरको रुपमा कैलाशका लालकुमार दम्पत्तिलाई घर हस्तान्तरण गरेका हुन् । 

कैलाश गाउँपालिकाले अति विपन्न परिवारको पहिचान गर्न सिंगो टिम परिचालन गरेको थियो । आयस्रोतसमेत नभएका र बाहिर गएर कमाउन सक्ने अवस्था नदेखिएका लालबहादुर प्रजा र सानुमायाको आवास निर्माणका लागि गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले मुख्यमन्त्री बानियाँसमक्ष सिफारिस गरेका थिए । 

अध्यक्ष मोक्तानको सिफारिसकै आधारमा शौचालयसहित तीनकोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । घर हस्तान्तरणपछि बसोबासका लागि आवश्यक लत्ताकपडा र भान्साका सामग्रीसमेत गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष मोक्तान बताउँछन् ।

उक्त घर ८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको बताइएको छ । यसअघि मुख्यमन्त्री बानियाँकै पहलमा मनहरी गाउँपालिकाकी मिठ्ठुमायालाई ४ लाख ६५ हजार रुपैयाँको लागतमा तीनकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । 

यता, मकवानपुरकै राक्सिराङ गाउँपालिका–इन्द्रुङमा सुमन चेपाङको घर निर्माण कार्य जारी रहेको छ । तेस्रो घर पनि केही साताभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update