News 24 Television
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन

झापा । चिसो याम सुरु भएसँगै झापाका बजार तथा चोकचोकमा भक्का खानेको घुइँचो हुने गरेको छ । विशेषगरी बिहान र बेलुकाको समयमा तातो–तातो भक्काको स्वाद लिन सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहने छ । चामलको पिठोलाई बाफमा पकाइने भक्का विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजा हो । तर, पछिल्लो समय भक्काप्रति सबै समुदायका मानिसहरु आकर्षित हुन थालेका छन् । 

बिहान बेलुका खाजाको रूपमा सबैको रोजाइमा पर्दा अहिले भक्का बेचेर झापाका धेरै महिलाहरु राम्रो आम्दानी गर्नुका साथै आफ्नो परिवारको गुजरा समेत चलाउन सफल भइरहेका छन् । 

जाडो याममा शरीरलाई न्यानो राख्ने र पचाउन सजिलो हुने भएकाले यसको माग हरेक वर्ष बढ्दो क्रममा छ । यस वर्ष पनि चिसो चाँडै सुरु भएकाले भक्काको व्यापार समेत चाँडै फस्टाएको व्यवसायी बताउँछन् । परम्परागत परिकार भक्का अहिले स्वादसँगै धेरै महिलाहरूको लागि आम्दानीको मुख्य स्रोत समेत बन्दै गएको छ । 

जाडोयाम सुरू भएसंगै यतिबेला झापाका काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, बुधबारे, भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदर्शी, बिर्तामोड, सुरूङ्गा, केर्खा, दमक, राजगढ र गौरीगञ्ज लगायतका मुख्य बजार क्षेत्रसंगै गाउँगाउँ चोक चोकमा बिहानैदेखि भक्का पकाएर बेच्ने महिलाहरूको चहलपहल हुने गरेको छ । जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । भक्का खाँदा पेट भरिने र स्वादिलो पनि हुने हुँदा ग्राहक आकर्षित हुने गरेका छन् । बाह्रै महिना भक्का बेचेर राजवंशी परिवारको आफ्नो गुजारा चलाउदै आएका छन् ।  

भक्का नरम हुने हुनाले बच्चा वृद्ध एवम् युवा सबै वर्गमा लोकप्रिय छ । भक्कालाई मनपर्दो स्वाद अनुसार गुलियो वा नुनिलो पारी खाजाको रुपमा खान सकिन्छ । जाडोमा तातो–तातो भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरु बताउँछन् । 

स्वाद, स्वास्थ्य र संस्कृतिको संगम बनेको भक्का अहिले झापामा चिसो यामको पहिचान जस्तै बनेको छ । चिसो बढ्दै जाँदा भक्काको बाफसँगै महिलाको मेहनत र आम्दानी पनि थपिदैं गइरहेको देखिन्छ । यसलाई अझै व्यवस्थित बनाउँन स्थानीय तहले सीप तालिम र साना उद्यमका रुपमा सहयोग गरे भक्का जस्तो परम्परागत परिकार वास्तवमै रोजगारीको बलियो आधार बन्न सक्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update