कास्की । हिमाल, ताल र संस्कृतिको अनुपम संगम पोखरामा पर्यटनको उत्सव सुरु भएको छ । नेपालकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पोखरा सडक महोत्सवको २७ औँ संस्करण आइतबारदेखि आरम्भ भएको हो ।
खहरेदेखि कोमागाने पार्कसम्म निकालिएको सांस्कृतिक झाँकीसहितको ¥यालीले महोत्सवको औपचारिक सुरुवात गर्दै पोखरालाई विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
रेबान पोखराको आयोजनामा आइतबारदेखि पोखरामा २७ औँ पोखरा सडक महोत्सवको सुरु भएको छ । महोत्सवको उद्घाटनमा खहरेबाट कोमागाने पार्कसम्म ४ किलोमीटर सडकमा विभिन्न जातजाति, आमा समुह, पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्था लगायतको उपस्थितिमा सांस्कृतिक झाँकी सहित ¥याली निकालिएको थियो ।
महोत्सवको ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले उद्घाटन गरे । उद्घाटन पश्चात् बोल्दै मन्त्री घिसिङले पोखरा विश्वका लागि नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेको बताए ।
पुस १३ देखि १७ गतेसम्म हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी तथा मौलिक सांस्कृतिक प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमै खाने, नाचगान गर्ने तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने रेबानले जनाएको छ ।
यस्ता खालका कार्यक्रमले नै पर्यटकलाई लोभ्याउने पर्यटन व्यवसायीको विश्वास छ । पोखरा भ्रमण वर्ष चलिरहेकै अवस्थामा यो महोत्सवले प्राकृतिक तथा सांस्कृतिक विविधताको जानकारीको साथै जिम्मेवार पर्यटनको केन्द्रका रुपमा विश्व समु प्रस्तुत भइरहेको महोत्सव संयोजक बसन्त गौतमको भनाइ छ ।
पछिल्लो समय पोखरा आउने पर्यटकहरूलाई सडकमार्ग सुधारले केही सहज बनाएको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखराको पर्यटनले घाटा व्यहोर्नु परिरहेको छ ।
नियमित अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर पहल गरेपनि केन्द्र सरकारले यसमा ठोस कदम नचाल्दा पोखराको पर्यटन व्यवसायी भने चिन्तित छन् ।
यता सिंगो महानगर, पर्यटन व्यवसायी तथा गण्डकी प्रदेश सरकार पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन धेरै प्रयत्न गरेपनि उडाउन नसकिएको बताउँदै गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले केन्द्र सरकारले नियमित अन्तर्राष्ट्रिय उडानमा सहयोग नगरेको आरोप लगाए ।
पर्यटनलाई चलायमान बनाउन हुने यस्ता खालका अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुग्नेछ । पोखरा पर्यटनको राजधानी घोषणा भएसँगै यस्ता खालका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमले वास्तवमै पर्यटनको राजधानी बन्न र नेपालमा धेरै संख्यामा पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
