News 24 Television
पोखरामा फोहोर व्यवस्थापनमा समस्या, वडा नं ३३ मा प्रशोधन केन्द्र निर्माणमा स्थानीयको अवरोध

कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माणको विषयले उग्र रुप लिएको छ । प्रशोधन केन्द्रको विरोध गर्दै आएका पोखरा महानगरपालिका वडा नं ३३ का केही स्थानीयले वडा कार्यालय र सुरक्षाकर्मीको सवारी तोडफोड गरेका छन् । 

यता वडाध्यक्ष रामचन्द्र अधिकारीले आक्रोशित स्थानीयलाई तर्साउन खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोप आन्दोलनकारीले लगाएका छन् । पोखरा–३३ स्थित पुँडीटारमा फोहोर प्रशोधन केन्द्र बनाउने निर्णयको विरोधमा शुक्रवार वडा कार्यालय अगाडि केही स्थानिय प्रदर्शन गर्न पुगेका थिए । 

पोखरा महानगरपालिका ३३ का केही स्थानीयले पुँडीटारमा फोहोर प्रशोधन केन्द्र बनाउने भनेदेखि नै सम्पुर्ण महानगरको फोहोर आफ्नो वडामा किन ल्याउने भन्दै विरोध गरिरहेका छन् ।

बारम्बार आवाज उठाउँदा पनि आफ्नो मागको सुनुवाइ नभएको भन्दै उनीहरु शुक्रबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले गेटमा ताला लगाएर प्रदर्शन गरिरहेका थिए । वडा कार्यालय पुगि नसकेका वडाध्यक्ष अधिकारी आन्दोलन चलिरहँदा खुकुरी लिएर पुगेको भन्दै स्थानियहरु आक्रोशित भई तोडफोडमा उत्रिएका थिए । 

माहोल बिग्रदै गएपछि स्थितिलाई नियन्त्रणमा लिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । खुकुरी देखाएर तर्साउन थालेपछि वडाध्यक्ष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यता आक्रोसित भिडले वडा अध्यक्षको गाडी र कार्यकक्षमा तोडफोड गरेका छन् । केहीबेर उग्र बनेको प्रदर्सन प्रहरीको बाक्लो तैनाथ पछि शान्त बनेको थियो । 

पोखराको बाच्छीबुडुवास्थित ल्याण्डफिल साइड पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा ३३ मा अर्को ल्याण्डफिल साइड निर्माण गर्ने महानगरले घोषणा गरेको थियो । तर त्यो पनि स्थानियको अवरोधका कारण निर्माण हुन सकेको छैन । 

पोखरा ३३ का स्थानियहरुले ल्याण्डफिल साईड कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै आएका छन् । जसका कारण पोखराको फोहोरको दिर्घकालिन समाधान अप्ठ्यारोमा पर्दै आएको छ । गत मंसीर २ गते पोखरा महानगर र निर्माण कम्पनी टेरासोल्भ रिनुएवल प्रालिबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सम्झौता भएको थियो । 

सम्झौता अनुरुप ८० करोडको लागतमा ल्याण्डफिल साइड निर्माण गर्नुपर्ने हुन्छ । स्थानीयसँगको विवाद र जग्गाको मूल्यांकन नमिल्दा पोखरा महानगरले एक महिनाभित्र उपलब्ध गराउन असफल भएको छ । 

जग्गा प्राप्तिको प्रकृया अघि बढ्न नसक्दा सम्झौता अनुसारको काम  अघि बढ्न सकेको छैन । यता स्थानीयको निरन्तरको अवरोधले गर्दा ल्याण्डफिल साईड निर्माणको काम रोकिएको छ । यो विवादले समाधानको बाटो नलिए पोखरामा फोहोर व्यवस्थापनको समस्याले विकराल रुप लिनेमा दुईमत देखिन्न । 

 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update