कास्की । पोखरा उपत्यकामा जलपन्क्षी गणना शुरु भएको छ । विश्वमा सन् १९८७ देखि वर्षेनि नियमित रूपमा चरा गणना गरिँदै आएको छ । जलपन्छी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका ताल, नदी र खोलामा गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित गणना र अभिलेख राखिदै आएको छ ।
प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा पोखरा उपत्यकामा चरा गणना हुदै आएको छ । स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण सघ संस्थाको सहभागितामा गणना हुने गरेको छ ।
सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, सख्या अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपंक्षीहरूको अनुगमन र गणना हुदै आएको छ ।
नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए । उनले पछिल्लो समयमा चराहरुको बासस्थान संकटमा पर्दै गएका कारण चराहरु घट्दै गएको बताए ।
जलपन्छी अर्थात पानी चरा गणना पोखरामा रहेका केहि पथ प्रर्दशकहरु, नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नतामा हुदै आएको छ । पोखराका बिजयपुर खोला, हर्पन खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास ताल, रुपा ताल र फेवातालमा जलपंछी गणना हुनेछ । पछिल्ला वर्षहरुमा चराका प्रजातीमा त्यती धेरै फरक नपरेको भए पनि र संख्यामा भने निकै कमि आएको छ ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा गणना शुरु भएको हो ।
यस वर्ष गणनामा पोखरा उपत्यकामा ४५ प्रजातिका पानी चराको अभिलेख गरिए पनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिन्छन् ।
