News 24 Television
पोखरामा भूकम्प अभ्यासः त्रास होइन, सजगताको सन्देश

कास्की । नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश हो । पछिल्ला वर्षहरूमा स–साना भूकम्पदेखि ठूला विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएका उदाहरणहरू प्रशस्त छन् । भूकम्प पूर्व सूचना नआउने प्राकृतिक विपद् भएकाले सतर्कता र तयारी नै यसबाट बच्ने सबैभन्दा ठूलो उपाय मानिन्छ । यही सन्देश दिन पोखरामा शुक्रबार भूकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ ।

यो दृश्य शुक्रबार बिहान ९ बजे पोखराको मालेपाटनको हो । समय सामान्यरुपमा चलिरहेकै बेला अचानक भूकम्प गएको महसुस हुन्छ । मानिसहरू डराएर चिच्याउन र कराउन थाल्छन् । 

केही आत्तिएर भाग्छन् भने केही भवनमा च्यापिएको दृश्य देखिन्छ । यत्तिकैमा मालेपाटन परिसरमा सशस्त्र प्रहरी बलको उद्दार टोली सक्रिय हुन्छ । भूकम्पले भत्किएको भवनभित्र फसेका घाइतेको खोजी सुरु हुन्छ । डोरी, स्ट्रेचर र प्राथमिक उपचार सामग्रीको प्रयोग गर्दै उद्दार कार्य अघि बढाइन्छ ।

घटनामा केहीको ज्यान जान्छ भने केही घाइतेको उद्धार गरी सुरक्षित स्थानमा ल्याइन्छ । घाइतेलाई प्राथमिक उपचार दिइन्छ भने गम्भीर घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल पठाइन्छ । उद्दार अभ्यास चलिरहेकै बेला त्यहाँका स्थानीयको समेत बाक्लो उपस्थिति देखिन्छ ।

घटनास्थलमा देखिएको यो दृश्यले जो–कोहीलाई भयभीत बनाउँछ । तर नझुक्किनुहोस् । यो कुनै वास्तविक भूकम्प होइन । जिल्ला विपद् व्यवस्थापन समिति, पोखरा महानगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेड क्वाटर कालिकाको संयुक्त आयोजनामा २८ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर गरिएको भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास हो ।

नेपाल भूकम्पीय जोखिमको उच्च संवेदनशील क्षेत्रमा पर्छ । २०७२ सालको विनाशकारी भूकम्पपछि विपद् व्यवस्थापन र उद्दार क्षमतामा सुधार भएपनि जनस्तरमा अझै पर्याप्त तयारी हुन नसकेको सरोकारवालाको भनाइ छ । यस्ता अभ्यासले मानिसहरूलाई भूकम्पको बेला के गर्ने र के नगर्ने भन्ने व्यवहारिक ज्ञान दिने उद्देश्य राखेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

भूकम्प जस्ता विपद् आउँदा मानिसले आफू बाँच्न र अरूलाई कसरी बचाउन सकिन्छ भने पूर्व जानकारी दिन अभ्यासका कार्यक्रम आवश्यक रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका र कास्की प्रशासनका प्रमुखले समेत विपद् पूर्वतयारीमा समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् । विपद भइसकेपछि हारगुहार गर्नुभन्दा आम नागरिक स्वयं सचेत र पूर्व तयारी अवस्थामा रहनुपर्नेमा जोड दिइएको छ ।

भूकम्प जस्ता प्राकृतिक विपद् कहिले आउँछ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले सतर्कता, अभ्यास र तयारी नै सबैभन्दा ठूलो सुरक्षा उपाय हो । विद्यालय, सार्वजनिक स्थल र भीडभाड हुने स्थानमा यस्ता कृत्रिम घटना अभ्यास नियमित रूपमा गरिनुपर्ने सरोकारवालाको सुझाव छ । अभ्यासले त्रास होइन, सजगताको सन्देश दिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update