धनुषा । देशव्यापी रुपमा विभिन्न दलबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारले उम्मेदवारी दिएका छन् । नेकपा, रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय मुक्ति पार्टीलगायत दर्जनभन्दा बढी दलबाट आकांक्षीहरुले उम्मेदवारी दिएका छन् । जेन– जी आन्दोलनपछि नयाँ दलबाहेक पुराना दलहरुबाट अधिकांस पुरानै अनुहारहरु दोहोरिएका छन् ।
आगामी प्रतिनीधी सभा सदस्यका लागी धनुषामा केही पुरानो दलका हेभीवेटहरुले पनि उम्मेदवारी दिएका छन् भने नयाँ दलहरुबाट अधिकांश नयाँ अनुहारकाले पनि उम्मेदवारी दिएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(नेकपा), जनता समाजवादी पार्टी नेपाललगायत दलले पुरानै नेताहरुलाई दोहोर्याएका छन् भने जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टी रामुपाले नयाँ अनुहारले उम्मेदवारी दिएका छन् ।
एमालेले धनुषा– ३ बाट पुनः जुली कुमारी महतोलाई निरन्तरता दिएको छ । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकै तामझामका साथ बाजागाजासहित नारावाजी गर्दै उम्मेदवारी दर्ता गराएकी थिइन् ।
सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट धनुषा– ३ बाट विमलेन्द्र निधिले उम्मेदवारी दिएका छन् । उनी यसअघि पनि महतोबाट पराजित भएका थिए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै महतोले एमालेले देशभर अघि सारेको समृद्धि र विकासको अभियान अझै अधुरो रहेकाले त्यसलाई पूर्णता दिन पुनः जनमतको आवश्यकता परेको बताइन् ।
महतो पछिल्लो निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन् भने उनले तत्कालीन लोसपा पार्टीका उम्मेदवार अनिलकुमार झालाई समेत पराजित गरेकी थिइन् । तर यसपटक भने नेता निधिले आफू जित्ने बताउँदै कांग्रेस पहिलो पार्टी बन्ने सम्म दाबी गरेका छन् ।
सोही क्षेत्रबाट रास्वपाबाट पूर्वसांसद मनिष झाले पनि उम्मेदवारी दिएका छन् । यही क्षेत्रमा नेकपाले नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । नेकपाबाट रामललित मण्डलले उम्मेदवारी दिएका छन् भने रामुपाबाट राजीव झा, जसपा नेपालबाट पूर्व मधेश प्रदेश सांसद परमेश्वर साहलगायतकाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै धनुषा– १ मा नेकपाबाट पूर्वमन्त्री मातृकाप्रसाद यादव, कांग्रेसबाट रामपल्टन साह, एमालेबाट मधेश प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डल, जसपा नेपालबाट पूर्वसांसद दिपक कार्की, धनुषा– २ मा नेकपाबाट पूर्वमन्त्री रामचन्द्र झा, कांग्रेसबाट पूर्वसांसद दिनेश प्रसैला यादव, जसपा नेपालबाट पशुपति यादव, एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया, धनुषा– ४ मा नेकपाबाट ई.संजयकुमार महतो, कांग्रेसबाट पूर्वमन्त्री महेन्द्र यादव, एमालेबाट पूर्वमन्त्री रघुवीर महासेठलगायतकाले उम्मेवारी दर्ता गराएका छन् । एमालेका जुलीकुमारी महतो र रघुवीर महासेठ श्रीमान् श्रीमति हुन् ।
उनीहरु यसअघि पनि निर्वाचित भएका थिए । मातृकाप्रसाद यादव, कार्की, झा, दिनेश प्रसैला, अरगरिया र महेन्द्र यादवले पुनः उम्मेदवारी दिएका छन् । केहीले उम्मेदवारी दोहोर्याएका छन् भने अधिकांशले पहिलोपटक उम्मेदवारी दिएका छन् । कतिपय नयाँ दलको आफ्नो संगठन समेत नरहेकाले पुराना दलको प्रभाव देखिने राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् । धनुषामा विभिन्न दल तथा स्वतन्त्रसमेत गरी १५८ जनाले उम्मेदवारी दर्ता गराएक छन् ।
